
पछिल्लो समय रूसमा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण तीव्र रूपले फैलिँदै गएकाे छ । त्यहाँ केही दिनयता लागातार १० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएकाेमा बिहीबार याे संख्या ११ हजारमाथि पुगेकाे छ ।
वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार रूसमा बिहीबार ११ हजार २३१ नयाँ संक्रमित फेला परेका छन् ।
बुधबार त्यहाँ १० हजार ५५९ नयाँ संक्रमित फेला परेका थिए भने मंगलबार पनि १० हजार १०२ जना नयाँ संक्रमित भेटिएका थिए । साेमबार त्यहाँ १० हाजर ५ सय ८१ जना नयाँ काेराेना संक्रमित भेटिएका थिए । आइतबार पनि १० हजार बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए ।

यससँगै अहिलेसम्म रूसमा काेराेना संक्रमितकाे संख्या १ लाख ७७ हजार १६० पुगेकाे छ । काेराेना संक्रमणका कारण १ हजार ६२५ जनाले ज्यान गुमाइसकेका छन् । बिहीबार मात्र त्यहाँ काेराेनाका कारण ८८ जनाकाे ज्यान गएकाे छ । बुधबार ८६ जनाले ज्यान गुमाएका थिए । संक्रमण दरकाे तुलनामा मृत्युदर भने रूसमा कम रहेकाे छ ।
कुल सङ्क्रमितमध्ये २३ हजार ८०३ जना भने पूर्ण रूपमा निको भएर घर फर्किएका छन् । अहिले रूसमा १ लाख ५१ हजारभन्दा बढीमा काेराेना सक्रिय रहेकाे छ ।
रूसमा सबैभन्दा बढी प्रभावित मस्कोमा भएकाे छ । मार्च ३० देखि राजधानी मस्कोका १ करोड २० लाख मानिसलाई अत्यावश्यक नभई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । रूसमा पहिलोपटक दुई व्यक्तिमा जनवरी ३१ मा सङ्क्रमण भेटिएको थियाे । मार्चको अन्त्यपछि याे सङ्क्रमित सङ्ख्यामा वृद्धि हुँदै अाएर मेकाे सुरूदेखि नै तीव्रता देखिएकाे छ ।











