‘डाक्टर बन्ने सपना थियो तर डान्सर बनियो’ -रुबिना अधिकारी

ज्ञान ब. खड्का (ज्ञानु संंगम)

'डाक्टर बन्ने सपना थियो तर डान्सर बनियो' -रुबिना अधिकारी

कलाकारिता क्षेत्र भन्ने बित्तिकै जो कोहिको मन आकर्षित हुने गर्छ। कलाकारिताकै एक पाटो हो डान्स ।

डान्सले सबैको मन प्रफुल्लित बनाउने गर्छ। डान्स फिल्डकै कुरा गर्दा सबैले चिन्ने नाम हो, शंकर बिसी।

बाँके जिल्लाबाट प्रतिनिधित्व गरेर डान्स फिल्डमै स्थापित बनेका उनी सम्पुर्ण नेपालीको मन मस्तिष्कमा बस्न सफल भएका छन।

वास्तवमा भन्नू पर्दा बाँके जिल्लाबाट डान्सिङ क्षेत्रमा स्थापित धेरै कलाकारहरु छन। ती मध्ये रुबिना अधिकारी पनि एक हुन।

पछिल्लो समयमा विभिन्न म्युजिक भिडियो अनि मेला महोत्सवमा व्यस्त रहने रुबिना पनि बाँके जिल्लाबाटै प्रतिनिधित्व गरेर डान्सिङ क्षेत्रमा अगाडि बढ्ने कलाकारमा पर्ने गर्छिन।

आफ्नो डान्सले दर्शकको मन केन्द्रीत पार्न सक्ने खुबी भएकी रुबिनाको डान्स हेर्दा जो कोहिलाई पनि लाग्ने गर्छ उनी सानैदेखि डान्स गर्ने गर्थिन।

तर वास्तविकता भने अलि फरक छ। उनको भनाइ अनुसार सानोमा भने उनले डान्स गर्थिनन। कुनै मोडल अनि कलाकार बन्ने सपना रुबिनामा थिएन।

'डाक्टर बन्ने सपना थियो तर डान्सर बनियो' -रुबिना अधिकारी

उनीमा एउटा मात्र सोच थियो, त्यो हो पढाइलाई राम्रोसँग अगाडि बढाउने। भविष्यमा एउटा राम्रो नर्स अथवा डाक्टर बन्ने सपना थियो रुबिनामा।

एसएलसी दिँदा सम्म पनि डान्स नगरेको र डान्स तिर इच्छा नभएको रुबिना बताउँछिन। सानैदेखि पढाइमा अब्बल उनी बि.सं. २०६९ सालमा एसएलसी दिएपछि तीन महिना फ्री भइन।

एसएलसी पछिको खाली समयमा समयमा रुबिनाका साथीहरू कम्प्युटर सिक्न थाले तर रुबिनाले भने केहि पनि गर्दिनथिन। त्यहीँ समयमा उनको दिदी सरिता खनालले नेपालगन्जमा म्युजिक सिक्थिन।

एकदिन रुबिनालाई दिदी सरिताले खाली समय बस्नु भन्दा डान्स सिक्न जाम अभ्यास हुन्छ भनेर अनुरोध गरिन।

दिदीको उत्प्रेरणा अनि आग्रहपछि रुबिनाले डान्स क्लास सुरु गर्न थालिन। जब डान्स सिक्न सुरु गरिन त्यसपछि भने बिस्तारै डान्सिङ्ममा इच्छा जागेको उनी बताउँछिन।

बिस्तारै उनी स्थानीय कार्यक्रमको स्टेजमा प्रस्तुत हुन थालिन। ‘सुरुको स्टेजमा डान्स गर्न घरबाट भागेर गएको थिएँ , उनी भन्छिन,’म डान्स गर्न गएको थाहा पाएर ममि बुवा रिसाउनु भयो।

उहाँलाई म पढाइभन्दा बाहिरको क्षेत्रसँग आवद्ध भएको मन पर्थेन। तर मलाई भने बिस्तारै डान्सको नसा चढिसकेको थियो।’

'डाक्टर बन्ने सपना थियो तर डान्सर बनियो' -रुबिना अधिकारी

करिब ३ महिना जति डान्स सिक्दै गर्दा एसएलसीको नतिजा सार्सार्वजनिक भयो। मार्क्स राम्रै आएकाले उनले बि.सं. २०७० सालमा नेपालगन्जमै प्लस टु को अध्ययन सुरु गरिन।

प्लस टु पढ्दै गर्दा उनकी दिदी सरिता खनालले एउटा गीत निकालिन। संयोगबस रुबिनाले “तिम्रो मन चोर्नै पर्ने भो” बोलको गीतमा पहिलोपटक डान्स गरिन।

पहिलो गीतमै उनले चर्चित डान्सर शंकर बिसीको समुहसँग डान्स गर्ने मौका पाइन। सरिता खनाल र टंक तिमिल्सिनाको आवाज रहेको उक्त गीतका निर्देशक बिक्रम चौहान र शंकर बिसीले रुबिनाको डान्सको प्रशंसा गरे।

पहिलो गीतमै राम्रो प्रतिक्रिया पाएपछि मोडलिङ अनि डान्सिङ क्षेत्रमा अगाडि बढ्ने मोह रुबिनामा बढ्न थाल्यो।

उता म्युजिक भिडियोमा रुबिना खेलेको कुराले उनको बुवा ममि खुसी हुनुभएन। उनी भन्छिन,’म्युजिक भिडियो गरेँ भनेर ममि बुवा एकदम रिसाउनु भयो।

उहाँहरु म एउटा राम्रो डाक्टर बनेको हेर्न चाहनु हुन्थ्यो। तर मेरो मन भने डान्सतिर आकर्षित भइसकेको थियो।’ रुबिनालाई सुरुमा बुवा ममिको त्यति सपोर्ट भएन।

उनले आफ्नो ममिलाई सम्झाउथिन। उनको ममिले भने पहिलो म्युजिक भिडियो बजारमा आएको केहि समयपछि उनलाई साथ अनि सपोर्ट गर्न थाल्नुभयो।

नेपालगन्जको मोडर्न कलेजमा प्लस टु सम्मको पढाइ सकेपछि एमबीबीएस तयारीका लागि रुबिना काठमाडौं प्रवेश गरिन।

'डाक्टर बन्ने सपना थियो तर डान्सर बनियो' -रुबिना अधिकारी

काठमाडौं पुगेर उनले एमबीबीएसको क्लास पनि सुरु गरिन। तर डाक्टर भन्दा डान्सर बन्ने चाहना वृद्धि भइसकेको उनको मासनपटलले डाक्टर पढ्न गार्‍हो जस्तो मान्न थाल्यो।

उनले टियुमा नर्सको इन्ट्रान्स पनि दिइन तर नाम भने निस्केन। त्यसपछि उनको एक वर्ष पढाइमा ग्याप भयो। पढाइ ग्याप भएपछि डान्समा झन रुचि बढेको उनी बताउँछिन।

त्यसपछि उनले डान्ससँगै पढाइ पनि राम्रो तरिकाले अगाडि बढाउने उद्देश्यले ब्याचलरमा स्वास्थ्यसँगै सम्बन्धित पब्लिक हेल्थ संकाय पढ्न सुरु गरिन।

पढाइमा अब्बल भएकै कारण पब्लिक हेल्थमा छात्रवृत्तिमा समेत नाम निकाल्न सफल भइन।

पढाइसंगै फाट्टफुट्ट म्युजिक भिडियोमा डान्स गरिरहेकी रुबिनाले बि.सं २०७३ सालमा हास्य विधाका चर्चित मह जोडीसँग गाइजात्रा गर्ने अवसर पाइन।

‘काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा डान्स गर्दा मह जोडीको टिमले मेरो डान्स मन पराउनुभएको थियो, उनी भन्छिन,’त्यसको केहि समयपछि हास्य कलाकार किरण केसी सरले फोन गरेर नेपाल टुर गाइजात्रामा डान्स गर्ने अफर गर्नुभयो।

मलाई त त्यो खबर सुन्दा एकछिन सपना जस्तै लाग्यो। पछि उहाँको प्रस्ताव स्वीकारे। उहाँहरु जस्तो अग्रजसँग नेपाल टुर गर्न पाउँदा आँफुले आफैलाई एकदम भाग्यमानी महशुस गरेँ।’

देशभर गाइजात्रा शो गर्ने क्रममा रुबिना आफ्नो गृह शहर नेपालगन्जमा पनि प्रस्तुती दिन आइन। उनको डान्स हेर्न उनको बुवा पनि त्यो कार्यक्रममा सहभागी हुनुभएको थियो।

जब रुबिनाले स्टेजमा डान्स प्रस्तुत गरिन,त्यतिनै बेला चर्चित हास्यकलाकार राजाराम पौडेलले रुबिनाको बुवासँग रुबिनाको डान्स एकदम राम्रो भनेर प्रशंसा गरे।

देशकै चर्चित कलाकारको मुखबाट छोरीको प्रशंसा सुनेपछि रुबिनाको बुवा एकदम खुसी भएको रुबिना बताउँछिन। बिस्तारै रुबिनाले बुवाको सपोर्ट पाउन थालिन।

उनी भन्छिन, “देशकै चर्चित कलाकार मह जोडीसँग नेपाल टुर गर्न पाउनु मेरो लागि एकदमै भाग्यको कुरा अनि जीवनकै अविस्मरणीय क्षण हो।

उहाँहरु सँग नेपाल टुर गरेपछि बुवाले पनि एकदम हौसला अनि साथ दिन थाल्नुभयो। त्यो समय भनेको मैले जीवनभर नभुल्ने समय हो।”

मह जोडीसँगको नेपाल टुरपछि रुबिनाले गएको वर्ष हास्यकलाकार मनोज गजुरेल, सुमन कार्की,काउली बुढी , सुबोध गौतम, जोगिन्दर शिवशंकर लगायतको टिमसँग प्रदेश प्रदेशमा गाइजात्रा पनि गरिसकेकी छिन।

त्यस्तै चलचित्र शत्रुगतेको ५१ औँ दिन उत्सव अन्तर्गत चर्चित नायक दिलिप रायमाझीसँग दैलेखमा पनि रुबिनाले प्रस्तुती दिइन।

दिलिप रायमाझीसँगको स्टेज कार्यक्रमले एकदम राम्रो प्रतिक्रिया पाएको उनी बताउँछिन।

बि.सं. २०७४ मा गायक चन्द्र शर्माको तिजको गीत “बाछिले धान खायो”बाट उनी पुनः दर्शकमाझ प्रस्तुत भइन।

उक्त गीत एकदमै चर्चित बन्यो। रुबिनालाई यो गीतले दर्शक सामु चिनाउन एकदम मद्दत गर्यो।

'डाक्टर बन्ने सपना थियो तर डान्सर बनियो' -रुबिना अधिकारी

तुना कसेर,छुटन कहाँ,होला नानै, चौतारी ताकेर,मादलु बज्यो, इन्ट्री मार्यो मायाले लगायत पछिल्लो समय माइतिको देश २ , जाउँला बरिलै गरि करिब ५० भन्दा बढी म्युजिक भिडियोमा रुबिनाले अभिनय अनि डान्स गरिसकेकि छिन।

पछिल्लो समय म्युजिक भिडियो भन्दा स्टेज कार्यक्रममा रुबिनालाई धेरै देख्न पाइन्छ।

म्युजिक फिल्ड अनि स्टेज कार्यक्रममा धेरै राजनीति हुने उनको अनुभव छ। कति ठाउँमा स्टेज कार्यक्रम गरिसकेपछि पारिश्रमिक नदिएको पनि रुबिनासँग तितो अनुभव छ।

रुबिना हाल पब्लिक हेल्थको तेस्रो सेमेस्टरमा अध्ययन गरिरहेकी छिन। दुईवटा सेमेस्टरमा छात्रवृत्ति पाएकी रुबिनाले डान्सिङ सँगै पढाइलाई पनि बराबर तरिकाले अगाडि बढाइरहेको बताउँछिन।

आफुले समय मिलाउन सके अन्य क्षेत्रलाई पनि अगाडि बढाउँदा पढाइमा खासै असर नपर्ने रुबिनाको अनुभव छ।

पहिले पढाइसँगै डान्सलाई अगाडि बढाउन सकिन्न कि जस्तो लाग्ने तर अहिले समय व्यवस्थापन गर्न सकेकोले डान्ससँगै पढाई पनि राम्रो भइरहेको रुबिना बताउँछिन।

यसै वर्ष बाँकेको खजुरामा सम्पन्न खजुरा गाउँपालिका नेपालकै सडक मानवमुक्त गाउपालिका ऐतिहासिक घोषणा कार्यक्रमबाट रुबिना सम्मानित पनि भइसकेकी छिन।

आगामी दिनहरुमा पढाइसँगै डान्सलाई राम्रो तरिकाले अगाडि बढाएर यसै क्षेत्रमा स्थापित हुने रुबिनाको योजना छ।

'डाक्टर बन्ने सपना थियो तर डान्सर बनियो' -रुबिना अधिकारी

प्रतिक्रिया