के-पी- घिमिरे
म निशव्द छु साथी , तिम्रो मृत्युु भयो भन्ने खबर सुनेर, मलाई अहिले पनि पत्यार त लागेको छैन् तर नपत्याएर पनि सुखै छैन । त्यो गाउँमा विदेशबाट आएका कसैसँग पनि सम्पर्कमा नरहेको तिमीमा कसरी एकाएक कोभिड १९ संक्रमित भयो सारा गाउँ र घरपरिवार सबै अचम्मित भएका छन् ।
हामीले प्राथमिक तह देखि हाईस्कुल सम्म संगै पढेका दिनहरु तिमी बिरामी भएर बुटवलमा उपचारका लागि ल्याइए देखि यो मनमा आइरहेका छन् । अझ तिमीले कक्षा ५ मा पढ्दा तिम्रो घरबाट अारुबखडा झोलाभरी लिएर नजिकैको बजारमा बेच्न गएको याद पनि ताजै जस्तै छ ।
प्राथमिक बिद्यालय घरको नजिकै थियोे तिम्रो र मेरो , अनि माध्यमिक तहको पढाइ गर्न अलिक टाढा हिडेर जानुपर्ने, तिमी मेरो घरमा आउथ्यौ अनि संगै जान्थ्यौं, माध्यमिक तहको पढाइ गर्दा दिउँसो खाजा समयपछि भागेर काफल, चौतारी, ऐसेलु , तिजु खान गएको याद यो मानसपटलमा भर्खरै जस्तै लाग्छ ।
तिमी र म कक्षा १ देखि त्यति बेलाको एस-एल-सी- सम्म संगै अध्ययन गर्यौ पछि म नेपालगन्ज तिर अध्ययनको सिलसिलामा आए तिमी उतै गुल्मीमै अध्ययन गर्यौ, तिमीले मलाई मेसेन्जरमा कुरा गर्दा अब हाम्रो ब्याचका साथीहरू भेट्नु पर्छ भनेर भनेका थियोे त्यो तिम्रो सपना अधुरै रह्यो साथी , ! तिमी गुल्मीको मदाने गाउँ पालिकामा रहेको कङ्के देउराली विद्यालयमा प्रधानाध्यापक भएर धेरै विद्यार्थीहरुलाई शिक्षाको ज्योति छर्दै आइरहेको तिमी यति छिटो हामीलाई छाडेर किन गयौं ?
तिमी बिरामी भएर फेसबुकको वाल भरी सिघ्र स्वास्थ्य लाभको कामना भन्ने मेसेस आउदै गर्दा एक्कासि कोरोना भाइरस पोजेटिभ देखिएको खबर आयो अझ तिमी यस धर्तीमा रहदा रहदै पनि केहीले हार्दिक श्रद्धाञ्जली भनेर सामाजिक सञ्जालमा हालेको देखेर मन कुडिन्थ्यो आज त्यही सावित भयो साथी अब हामीले पनि हाल्नै पर्ने भयो , आज गुल्मीको मदानेले एउटा होनहार असल युवा, बौद्धिक व्यक्ति , सहयोगी , परोपकारी, मिलनसार व्यक्ति गुमाएको छ । अन्त्यमा हार्दिक श्रद्धाञ्जली साथी !










