बर्दिया :

बारबर्दिया नगरपालिका वडा नं ९ खैरेनी सतखलुवामा रहेका होम स्टेहरुले भिजिट नेपाल २०२० लाई स्वागतमा कुनै कमी नराख्ने तयारीमा जुटेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सतखलुवामा रहेका २० वटा सामुदायिक होम स्टेहरु भिजिट नेपाल २०२० मा आफ्नो क्षेत्रमा आउने आन्तरीक तथा वाह्य पर्यटकहरुलाई खानपिनमा, बाँस बस्न , रमाइलो गराउनमा कुनै कमि नराख्ने होम स्टे सञ्चालन उप-समितिका अध्यक्ष सुरेश आचार्यले बताएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको पहलमा ३ वर्ष अगाडि देखि सञ्चालनमा आएका होम स्टेहरु अहिले राम्रोसँग चलेका अध्यक्ष आचार्यले बताए ।
तीन वर्ष अगाडि मान्छे हिड्ने गोरेटो बाटो रहेको थियो , अहिले यो ठाउँमा २० मिटरको बाटो बनेको छ अहिले बारबर्दिया नगरपालिकाले उक्त ठाउँमा पिच गर्ने बजेट छुट्टयाएको अध्यक्ष आचार्यले बताए ।

उक्त क्षेत्रमा रहेका होम स्टेहरु पर्यटन बोर्डमा १० वटा दर्ता भएका र अरु १० वटा होम स्टेहरु दर्ता गर्ने तयारीमा रहेका होम स्टे सञ्चालन उप समितिका सचिव राजेन्द्र थापाले बताए ।
अहिले मासिक ५५ देखि ६० हजार मासिक कमाइ गरिरहेका होमस्टेका सञ्चालकहरुले आफ्ना होम स्टेहरुमा एक पटक पाल्नु हुन आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आग्रह गरेका छन् ।
धेरै बेरोजगार भएका गाउँका युवा युवती सबैले होम स्टे सञ्चालन गरे पश्चात् विदेश जान छाडेर गाउँमै कमाइ गर्ने गरेको होम स्टे सञ्चालन उप समितिका कोषाध्यक्ष प्रतिभा चौधरीले बताईन् ।
आफ्ना ल होम स्टेहरुमा स्थानीय परिकार, लोकल कुखुरा, लोकल खसी बोका, माछा लगायतका परिकारहरु पर्यटकहरुलाई खुवाउने अध्यक्ष आचार्यले बताए ।









