कार्यालय प्रमुखहरुको मासिक बैठक डुडुवामा, कार्यप्रगति बारे समिक्षा

बाँके:

कार्यप्रगति बारे समिक्षा

बाँके जिल्लाका सरकारी कार्यालय प्रमुखहरुको मासिक बैठक आज आइतबार बाँके डुडुवा गाउँपालिकामा बसेको छ । डुडुवा गाउँपालिकाको स्वागतमा भएको बैठकले कार्यालयहरुले प्रवाह गर्ने सेवा सुविधा बारे प्रगति तथा समिक्षा गरि थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारका कामकारवाही प्रक्रियालाई प्रभावकारी बनाउन कार्यालय प्रमुखहरुको विशेष भुमिका रहेकाले स्थानीय तहलाई पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गाउँपालिकाका कार्ययोजना, कामकारवाही प्रक्रिया, सेवाको गुणस्तरियता प्रभावकारिता, सेवाग्राहीका अपेक्षा र विकास निमार्णका कार्य लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

बैठकमा जिल्लाका सम्पुर्ण कार्यालयका प्रमुखहरुले आ आफ्नो कार्यालयबाट सम्पादन हुने कार्यप्रगति, समस्या तथा चुनौतीका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले सरकारी कार्यालयका काम कारवाही प्रक्रियालाई गुणस्तरिय तथा प्रभावकारी बनाई सुशासनमुखी कार्यमा जोड दिदै निर्देशन दिनुभयो ।

उहाँले नेपाल सरकारको विद्यमान कानून तथा नागरिक वडापत्र अनुसारको सेवा निर्धक्कका साथ प्रवाह गर्न आग्रह गर्नुभयो ।

बैठकमा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, प्रहरी प्रमुख विरबहादुर ओली लगायत विभिन्न सरकारी कार्यालयका प्रमुहहरुको सहभागिता रहेको थियो ।

गम्भीर रुपमा छलफल तथा कार्ययोजनाका लागि कार्यालय प्रमुखहरुको नियमित मासिक बैठक विभिन्न स्थानीय तहहरुमा बस्ने गरिएको जनाइएको छ ।

प्रतिक्रिया