नेपालगन्ज : खजुरा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७७/७८ को चालु महिनासम्ममा १ सय ९१ जनालाई रोजगार प्रदान गरेको छ ।
खजुरा गाउँपालिकामा ७ सय १३ महिला र ८ सय १८ पुरुष गरेर १ हजार ५ सय ३१ जनाले बेरोजगार सुचिकृत रहेको भए पनि
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत यो आर्थिक वर्षको चालू महिनासम्ममा १ सय ९१ जनाले रोजगार प्राप्त गरेका हुन् ।
खजुरा गाउँपालिकामा ११ वटा आयोजनामा आर्थिक वर्षमा २०७७/७८ को चालू महिनासम्ममा ४२ लाख ४७ हजार ८ सय २९ रुपैयाँ खर्च भएको छ । खजुरामा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागी एक करोड १३ लाख ६८ हजार बजेट बिनियोजन भएको थियो ।
गाउँपालिकाले सडक मर्मत सम्भार, खानेपानी आयोजना, पाइपलाइन बिस्तार, फोहोर ब्यवस्थापन तथा सरसफाइका आयोजनाहरु लगायत ११ वटा आयोजनामा १९१ ब्यक्तिहरुलाई अधिकतम १०० दिनको रोजगारी प्रदान गरिएको खजुरा गाउँपालिकाको रोजगार संयोजक प्रतीक्षा न्यौपानेले बताउनु भयो ।

कोरोना संक्रमणको दोस्रो लहरले भारत लगायत तेस्रो मुलुकबाट रोजगारी गुमाएर वा बिदामा आएका तर रोजगारीका लागि गन्तब्यमा पुग्न नसकेका बेरोजगारको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको रोजगार कार्यक्रमले ठूलो राहत प्रदान समेत गरेको छ ।
महामारीका रूपमा फैलिएको कोरोनाका कारण समष्टिगत अर्थतन्त्रमा गहिरो प्रभाव परेको हुँदा रोजगारका क्षेत्र ठूलो समस्या देखा परेको छ । नेपालमा पनि आन्तरिक तथा वैदेशिक रोजगारीमा भारी गिरावट आएको बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर गाउँमै रोजगारी प्राप्त हुँदा महामारीको समयमा आर्थिक संकट हुनबाट जोगिएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
गत आर्थिक बर्षको भन्दा बजेट तथा आयोजनाहरु समेत धेरै भएको हुँदा रोजगारीमा संलग्न हुनेले पूरा १०० दिनको रोजगार प्राप्त गर्न सक्षम रहेको र समयमै बजेट निकास भएको कारण पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले महामारीको समयमा खजुरामा उल्लेख ब्यक्तिहरुले रोजगारी प्राप्त गर्न सफल रहेको संयोजक न्यौपाने बताउनुहुन्छ ।











