कुनै बेला बाँके जिल्लामै अति बिकट क्षेत्रको रुपमा परिचय रहेको नरैनापुर गाउँपालिकाको परिचय यतिबेला फेरिदै गएको छ |
नारैनापुरको परिचय मात्रै फेरिएको छैन, पालिकाबासीको अवस्था समेत फेरिएको छ | पक्कि बाटो र बिजुली कस्तो हुन्छ थाहा नभएका नारैनापुरबासीले यतिबेला झिलामिली बत्ति मात्रै बालेका छैनन आफ्नै देशको नोट समेत प्रचलनमा ल्याएका छन् |
स्थानीय तहमा जनप्रतिनिधि बिहिन हुदा भारतीय नोट मात्रै चल्ने नरैनापुरमा यतिबेला सबैजसो विकासको पहुचमा रहेको छ |
त्यतिमात्रै होइन स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट गाउँपालिका बन्न सफल बनेको छ । १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा प्रतिवेदन अनुसार बाँकेको नरैनापुर गाउँपलिकाले सबैभन्दा धेरै ७८.५१ अंक ल्याएको छ ।
संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा नरैनापुर गाउँपालिकाले ७८.५१ अंक ल्याएको हो ।
स्थानीय तहको हकमा समयमा बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरेरनगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्या लगायत सूचकलाई मूल्यांकनको आधार मानिएको छ ।
आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि यस्ता सूचकका आधारमा सबै प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले तल्ला तहमा केन्द्र सरकारले अनुदान दिने व्यवस्था गरेको छ । जस अनुसार नेपाल सरकारले आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था छ ।
आयोगले सम्बन्धित स्थानीय तह र संघीय सरकारका विभिन्न निकायबाट प्राप्त तथ्यांकका आधारमा कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए ।