आइटी ब्यवसाय मार्फत नेपालगन्जमा नयाँ आयाम थपेका रमेश क्षेत्री

जाजरकोटको शिवालय गाउँपालिकामा जन्मेर नेपालगन्जलाई अध्यन र कर्मको थलो बनाएका रमेश क्षेत्री पेसाले आइटी इन्जिनियर हुन् । नेपालगन्जमा आइटिको पढाई संगै आइटी ब्यवसायलाई बामेसार्दै अगाडी बढेका क्षेत्रीको जम्मै समय यतिबेला स्थानीय तहलाई डिजिटल बनाउने छ ।

नेपालगञ्ज इन्जिनियरिङ कलेजबाट आइटी कोर्स पुरा गरेपछि उनले आइटि ब्यवसाय सुरु गरेर सम्पूर्ण ध्यान सरकारी सेवा प्रवाहलाई बलियो बनाउनमै लगाए । उनले निन्जा इन्फोसिस दर्ता गरेर २०७४ को चैतमा नेपालगञ्जबाटै काम सुरु गरे ।

‘मैले सुरुमा नेपालगञ्जमा नै कार्यालय राखेर सरकारी सेवा प्रवाहमा ध्यान दिदैँ काम सुरु गरे । भर्खर स्थानीय तहको निर्वाचन भएर सेवा प्रवाह सुरु भएको थियो । सिंहदरबारको अधिकार गाउँ गाउँमा भनिएको थियो, तर त्यहाँ केही सुविधा नै थिएन’, उनले भने, स्थानीय तहको बिजोक अवस्था देखेर सेवाग्राहीको सहजका लागि डिजिटल ई–पालिका बनाउने सोच आयो । पढाइलाई सदुपयोग गर्दै मैले स्थानीय तहका सेवाहरु एउटै एपमार्फत पाउन सकिने गरी डिजिटल ई–पालिका बनाए ।’

निन्जा इन्फोसिसका अध्यक्ष समेत रहेका उनले नेपाली भाषामा सामान्य लेखपढ गर्नसक्ने व्यक्तिले समेत चलाउनसक्ने गरी एप बनाइसकेको बताए । उनले उक्त एप मार्फत सम्बन्धित पालिकाका लागि सहयोगी हुने बताए । उक्त एप चलाउँदा कुनै पनि शुल्क लाग्दैन ।

उक्त एपमा एकीकृत मोबाइल र बेल आधारित प्रणाली, नागरिकका सेवा र जानकारीको अनलाइनमा पहुँच, व्यक्तिगत, व्यवसाय र संस्थागत जानकारी, पालिकाको दैनिक कार्यसम्पादन गर्न सहज, सेवाग्राहीलाई अडियो, भिडियो मार्फत जानकारी, पालिकाको जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीको समयको बचत र पालिकालाई एकीकृत सफ्टवेयरमा आवद्ध गरी सूचना, तथ्यांक र सेवाप्रवाहमा  सहज लगायतका विशेषता छन् ।

कम्पनीले राजधानीकोे काठमाडौँ महानगरपालिकादेखि दुर्गमको गाउँपालिकासम्म सेवा प्रवाह गरेको जनाएको छ । काठमाडौँ महानगरले राखेको डिजिटल नागरिक वडापत्र र ३२ वटै वडा कार्यालयमा राखिएको वडापत्र निन्जा इन्फोसिसले नै तयार पारेको हो ।

२०७४ सालमा नेपालगञ्जबाट सुरु भएको ई–पालिकाको कर्पाेरेट कार्यालय काठमाडौँको जडिबुटीमा छ भने केन्द्रीय कार्यालय नेपालगञ्जमै राखिएको छ । कम्पनीले काठमाडौँको जडिबुटीमा केन्द्रीय कार्यालय राखेर स्थानीय तहलाई सेवा प्रवाह गर्दै आएको छ ।

कम्पनीले हाल देशभरका ५० वटा स्थानीय तहलाई सेवा प्रवाह गरिसकेको छ भने ३५ जनालाई रोजगारी समेत दिएको छ । ५० वटा स्थानीय तहसहित कम्पनीले ४०० भन्दा बढी सरकारी कार्यालयमा सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

कम्पनीले गत माघ पहिलो साता स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउन भन्दै डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच साझेदारी गरेका छन् ।

उनको टिमले यतिबेला आइटिको फरक बिधामा समेत लगानी गर्दै नयाँ ब्यवसायको सुरु समेत गरेको छ । आइटी क्षेत्रकै एन्टि भाइरस कम्पनी सुरु गरेर त्यसको आक्रमक बजार बिस्तारमा समेत यतिबेला ब्यस्त बनेका रमेश क्षेत्री यश क्षेत्रकै सफल युवाको रुपमा आफुलाई उभ्याउन सफल बनेका छन् ।

प्रतिक्रिया