
बाँकेको खजुरा गाउँपालिकाले संचालन गरेको क्वारेन्टाइनमा रहेका सबैलाई घर पठाइएको छ ।
अबधि पुगेर स्वास्थ्य जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि बिदाई गरिएको हो । क्वारेन्टाइनमा रहेका ९ जनालाई आज आइतबार घर पठाइएको हो ।
हालसम्म सो क्वारेन्टाइनमा ७४ जना बसेर अबधि पुर्याउदै घर फर्किएका हुन् । अन्तिम ९ जनाको बिदाइ गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले क्वारेन्टाइन संचालनमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।
सो अबसरमा उनले कोरोना विरुद्धको आभियानमा सरोकारवाला सबैको हातेमालो आवश्यक रहेको औंल्याए । वडा नं. १ का अध्यक्ष सुमन मल्लको संयोजकत्वमा व्यवस्थापन समिति रहेको भए पनि मल्ल सवारी दुर्घटनामा घाइते भएपछि सो जिम्मेवारी वडा नं. २ का अध्यक्ष देवीलाल खनालले हेर्दै आएका थिए ।

हरेक दिन जसो क्वारेन्टाइनको व्यवस्थापनमा खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओली, कार्यपालिका सदस्य फुलमाया जैसी, स्वयंसेवक व्यवस्थापन समिति संयोजक शालिक खड्का, विद्यालय व्यवस्थापन समिति, वडा नं. १ र २ का जनप्रतिनिधी, स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको खजुरा गाउँपालिका नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले जानकारी दिइन् ।
बिदाइका क्रममा खजुरा गाउँपालिका उपप्रमुख एकमाया बिक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, समाजसेवी गेहेन्द्र धिताल सहभागी थिए । हाललाई स्थगित गरिएको क्वारेन्टाइन आवश्यकता परे संचालनमा आउनेछ ।









