नगर सफा राख्न कागजका झोला

नेपालगन्ज :

नगर सफा राख्न कागजका झोला


घरबारी टोलमा रहेको अन्शु प्रोडक्सनको अगाडी सजिएका कागजका झोला झुन्डिएका छन् । विभिन्न कम्पनी र ब्राण्डका लोगो अङ्कित आकर्षक झोला बिक्रीको लागी राखिएका हुन ।

१० वर्षे जागिरे जिवनबाट सामाजिक सगै व्यवसायिक तिर प्रवेश गर्नुभएका अन्शु प्रोडक्सनका सन्चालक अन्जु गुरुङ शहरलाई प्लास्टिक मुक्त गर्न सहयोग पुगोस भन्दै कागजका झोलाको व्यवसायलाई अघि बढाएको बताउनुहुन्छ । गुरुङले सन्चालन गरेको व्यवसायले ‘प्लास्टिक मुक्त शहर, हामी सबैको रहर’ नै मुल नारा लिएर अघि बढिरहेको छ । नेपालगन्ज बेलासपुरको माझी प्रोडक्सनबाट उत्पादन हुने कागजका झोलाहरुको एकमात्र डिलरको रुपमा रहेको अन्शु प्रोडक्सनले माझिले तयार गरेको झोलालाई विभिन्न कम्पनी तथा ब्राण्डको नाम तथा लोगो अङ्कित गरेर बजारमा पठाउदै आएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जलाई प्लास्टिकमुक्त शहर बनाउने अभियान थालेको केही महिना भएको छ । तर, शहरमा अझै पनि प्लास्टिकका झोला प्रयोगमा कमि नआएको हुँदा शहरमा अझै पनि जताततै प्लाष्टिकका डङ्गुर देख्न सकिन्छ । उता अन्शु प्रोडक्सनका सन्चालक अन्जु गुरुङ पनि सो कुरामा सहमत हुँदै राज्य, स्थानिय निकायले प्लास्टिकका झोला प्रयोगमा पुर्णतया बन्देज लगाउने र नियमन गर्न सके कागजका झोलाको माग बढ्ने संगै शहर सफा समेत हुने बताउनुहुन्छ । ‘यो काम सेवा संगै ब्यवसाय पनि हो ।

कागजका झोलाको खपत बढ्नु भनेको शहर सफा हुनु हो, त्यसैले यसको लागी हामी नागरिक, स्थानियतह, ब्यापारी, ग्राहक सबैले मिलेर योगदान दिन जरुरी रहेको गुरुङको भनाई छ ।

नगर सफा राख्न कागजका झोला


अन्शु प्रोडक्सनले गएको तिन महिनाको अवधिमा करिब १० कुइन्टल बढी कागजका झोला बिक्रीवितरण गरिसकेको छ भने उतिकै राम्रो माग समेत प्राप्त गरेको छ । नेपालगन्ज लगायत बाँकेका विभिन्न स्थान सगै सुर्खेत, बर्दिया, दाङ र काठमाडौंमा समेत माग रहेको सन्चालक गुरुङले बताउनुभयो ।


गुणस्तर र डिजाइन अनुसार प्रति केजि १८० देखि ३२० रुपैयाँ पर्ने कागजका झोलाहरु बलियो संगै धेरै तौल धान्न सक्ने क्षमताको हुन्छ । यस्ता कागजद्वारा निर्मित झोलाहरु वातावरणमैत्री संगै पुनः प्रयोगमा ल्याउन सकिने विशेषता भएकै कारण हाल केन्द्रिय सरकार तथा विभिन्न स्थानीय तहले यस्ता उत्पादनलाई प्राथमिकतामा राखी प्लाष्टिकका झोला प्रयोगमा निरुत्साहित गर्ने नीति निर्माण गर्ने क्रममा रहेका छन् । अन्शु प्रोडक्सनका कागजका झोलाहरु कपडा पसल, कस्मेटिक पसल, मेडिकल, वाइन सप, मोबाईल पसल , रेस्टुरेन्टमा राम्रो खपत हुँदै आएको छ । कागजको झोला तुलनात्मक रुपमा प्लास्टिकका झोला भन्दा केही थोरै मात्र महँगो भएपनि गुणस्तरीय, वातावरणमैत्री, पुनः प्रयोग र स्ट्यान्डर्ड रहेको झोलाहरु हेर्दा पनि राम्रो र सस्तो पर्न जाने सन्चालक गुरुङले बताउनुभयो ।

गुरुङले आगामी दिनमा ब्यवसायको क्षेत्रफल बढाएर अन्य जिल्लाहरुमा पनि बिस्तार गर्ने योजना बनाउनुभएको छ । विशेषत: पश्चिम नेपालमा यसको ब्यवसायलाई अगाडी बढाउने गुरुङ बताउनुहुन्छ ।

प्रतिक्रिया