प्रदेश ५ मा आवश्यक पंक्षीपालन नीतिका लागि सुझाव लिन गोष्ठी

बर्दिया :

प्रदेश ५ मा आवश्यक पंक्षीपालन नीतिका लागि सुझाव लिन गोष्ठी

प्रदेश नम्बर ५ का लागि आवश्यक पंक्षीपालन नीति बनाउन सुझाब दिने उद्देश्यले कार्यशाला गोष्ठी गरिएको छ ।

बर्दियाको ठाकुरद्वारामा आज सम्पन्न प्रदेश नम्बर ५ का लागि पंक्षीपालन नीति तथा रोग नियन्त्रण रणनीति कार्यशाला गोष्ठीमा विद्यमान नीतिमा गर्नुपर्ने सुधार तथा आवश्यक अन्य नीतिका विषयमा सामुहिक छलफल तथा अन्तरक्रिया गरिएको कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक डा.शंकर न्यौपानेले बताउनुभयो ।

कुखुरा विकास फार्म खजुरा बाँकेको आयोजनामा भएको गोष्ठीमा सहभागीहरुले भएका नीतिहरुको व्यवहारिक कार्यान्वयमा जोड दिँदै केही नयाँ नीतिको टड्कारो आवश्यकता औंल्याएका थिए ।

प्रदेश नम्बर ५ का कृषि तथा पशु कार्यालयका प्रमुखहरुको सहभागिता रहेको गोष्ठीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.तेज बहादुर सुवेदीले पशुपंक्षी व्यवसायको सुधार र विकासका लागि सकेजति पर्यत्न गरिरहेको बताउनुभयो ।

५ नम्बर प्रदेशलाई पशुपंक्षीजन्य बस्तुहरुमा आत्मनिर्भर बनाउँदै भविष्यमा निर्यात गर्न सक्ने अवस्थामा पु¥याउनका लागि सरकार र व्यवसायीहरुले पूर्व तयारीमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नयाँ नीति भन्दा पनि अहिले विद्यमान नीतिहरुको कार्यान्वयन जरुरी रहेको उहाँको भनाई छ ।

पोल्ट्री व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रीले पोल्ट्री व्यवसायी धराशायी हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्दै नीति बन्ने तर कार्यान्वयन नहुने अवस्थाले समस्या निम्तिएको बताउनुभयो ।

उहाँले किसानको उत्पादनमा पनि विमा बनाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै हालको विमाको नीति ठिक नभएको जिकिर गर्नुभयो ।

खुला सीमानाले पोल्ट्री व्यवसायमा अझ चुनौति थपेको खत्रीको भनाई छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रिय सदस्य ललित जिसीले उत्पादन लागत पहिचान नगरेर हुँचवाको भरमा मूल्य तोक्दा किसान मारमा परेको बताउनुभयो ।

अनुत्पादक हुने गरी जथाभावी अनुदान नीति अबलम्बन गर्नुभन्दा भन्सार छुट दिने गरी नीति बनाउन आग्रह गर्नुभयो ।

दाना व्यवसायी धर्मराज पोख्रेलले चर्को भन्सार शुल्क तिरेर आयात गर्नुपर्ने दानाजन्य कच्चा पदार्थलाई निरुत्साहित गर्दै भटमास, पिना र मकैको आन्तरिक उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

गोष्ठीमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुल्सीराम भण्डारीले प्रदेश ५ मा विद्यमान तथा आवश्यक पन्छीपालन नीति, पशुपंक्षी विकास महाशाखा प्रमुख डा.प्रदिप शर्माले पंक्षीपालनको विद्यमान अवस्था तथा चुनौति र पशु पोषण तथा पोल्ट्री विज्ञ कृष्णकान्त न्यौपानेले स्थानीय कुखुराको महत्व तथा टेक्निकल प्यारामिटरका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीबाट प्राप्त सुझाबहरुलाई ड्राफ्ट गरेर आवश्यक नीति बनाउन सहयोग पुग्ने गरी निर्देशनालयमा पठाइने कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक डा.न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया