कोरोना भाइरसको जोखिम बढेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न, सिफ्ट अनुसार र घरबाट समेत काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार सुचना निकालेर बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।
यस्तो विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने बारेमा ‘विजनेश कन्टिन्यस्टी प्लान’ बनाउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ । प्रादेशिक शाखाहरू न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने वा वैकल्पिक रूपमा सञ्चालन गर्न सकिने शाखा पनि आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंले आग्रह गरेको छ ।
बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा संक्रमणलाई न्यूनीकरण गर्न सुरक्षाका सबै उपाय अपनाउन पनि अनिवार्य गर्न जारी निर्देशनमा उल्लेख छ ।










