माननीय अर्थमन्त्री ज्यू
न्यानो अभिवादन !
हजुर अर्थ मन्त्री नियुक्त हुनु भएपछि तपाईंले गरेको निर्णयको पर्खाइमा बसेका हामी सम्पूर्ण कोरोना पिडितहरु अत्यन्तै खुसी भएका थियौं । बीमा गरेपछि केही राहत होला भनेर कोरोना बीमा गरेका हामी तमाम जनताहरु अति खुसी थियौ । हामीले हाम्रो ज्यानको बाजी राखेर कोरोना भाइरससित पौठेजोरी खेल्दै केही दिनका लागि त विजय हासिल गरेका छौँ । अब त केही राम्रा कामहरु अवश्य देखिन्छ र गरेका निर्णयहरु कार्यान्वयनमा ल्याउनुहुनेछ भन्ने अाशा अहिले निराशामा परिणत हुदै छ ।
हजुरले बीमा समिति लगायत निर्जीवन बीमा कम्पनीलाई मिति २०७७/०७/१८ गतेका दिन १ हप्ता भित्र सम्पूर्ण कोभिड १९ का संक्रमितहरुको दावी भुक्तानी गर्न गराउन दिएको निर्देशन आज १ महिनासम्म पनि अत्तोपत्तो छैन् । सरकारलाई नै नटेर्ने बीमा कम्पनीले हामी जनतालाई कसरी टेर्लान ? आशा छ तपाईंले यो पत्र कहि कतै अध्ययन गर्ने अवसर पाउनु भयो वा कसैले हजुरलाई सुनाई दियो भने फेरि अर्को निर्देशन दिनु हुनेछ तर त्यसलाई पनि कम्पनीहरुले धोती लगाइदिने निश्चित छन् ।

मन्त्री ज्यू हजुरले गरेको निर्देशन लागू भयो कि भएन भनेर फलोअप नगरे जस्तो लाग्यो कि हजुरलाई १९ वटा ननलाइफ इन्स्योरेन्का सिइयोहरुले कुनै ललिपप त दिएनन् ? हामी तमाम जनताहरुको मनमा यही कुरा खेलिरहेको हुन्छ । मन्त्री र बीमा समितिको निर्णयलाई नटेर्ने कम्पनीलाई कारबाही किन गरिदैन् ।
बीमा कम्पनीले बीमा गर्दा कोरोना पोजेटिभ आएको र दावी क्लेम गरेको बढीमा १ महिना नभए १५ दिनमा भुक्तानी दिने भनेर बीमा गरेका हामी कोरोना पिडितहरुले दावी क्लेम गरेको ३ महिना सम्म पनि रकम पाएका छैनौं । मन्त्री ज्यूले निर्देशन दिदा अब त १ हप्ता भित्रमा रकम पाइने भयो भनेर मख्ख परेका हामीहरु अहिले निर्देशन दिएको १ महिनासम्म पुग्दा समेत चालचुल देखिदैन । आशा छ तत्काल कार्यान्वयनका लागि कडा कदम चाल्नु हुनेछ भन्ने दृढ विश्वासमा हामी पिडितहरु पर्खाइमा बसेका छौं ।
सम्पूर्ण कोरोनाको मृत्युबाट जोगिएका पिडितहरुको तर्फबाट
के-पी- घिमिरे
नेपालगन्ज











