भारतीय बीमा कम्पनी डुब्दै, नेपालमा त्रास

काठमाडौं :

भारतीय बीमा कम्पनी डुब्दै, नेपालमा त्रास

नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) डुब्ने अवस्थामा पुगेको छ । भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स–एनपीए) शतप्रतिशत वृद्धि भएको छ ।

एलआईसीले सन् २०१९ मार्चमा जारी गरेको वित्तीय विवरणअनुसार एनपीएको दर ६ दशमलव १५ प्रतिशत पुगिसकेको छ । यस्तो तथ्यांक सन् २०१४/१५ मा जम्मा ३ दशमलव ३० प्रतिशत मात्रै रहेको थियो ।

एलआईसीबारे समाचार सार्वजनिक गर्दै बीबीसी इन्डियाले भारतीय सरकारको लगानीमा रहेको यस बीमा कम्पनी डुब्नै लागेको दाबी गरेको छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले नरेन्द्र मोदी नेतृत्वको सरकारको नीतिका कारण एलआईसीमा नोक्सानी पुगेको र कम्पनीप्रति नागरिकको विश्वास गुम्दै गएको आरोप लगाएको बीबीसी इन्डियाले लेखेको छ ।

सन् २०१८/१९ को वित्तीय विवरणअनुसार २०१९ मार्च ३१ सम्म एलआईसीको खराब सम्पत्ति २४ खर्ब भारतीय रुपियाँ बराबर छ, जब कि कम्पनीको कुल कर्जा ४० खर्बभन्दा बढीको छ । कम्पनीको कुल सम्पत्ति भने ३६ खर्ब भारु बराबरको छ ।

एलआईसीले लगानी गरेका कम्पनीहरू डुब्ने अवस्थामा पुगेपछि एलआईसीमा संकट आइपरेको हो । एलआईसीले लगानी गरेका दिवान हाउजिङ रिलायन्स क्यापिटल, इन्डिया बुल्स हाउजिङ फाइनान्स, पिरामल क्यापिटल र एस बैंकलगायत डुब्ने अवस्थामा पुगेका छन् ।

एलआईसीको ५५ प्रतिशत रहेको कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले भने यसलाई ‘केबल हल्ला’ भन्दै कुनै असर नपर्ने जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया