काठमाडौं :

नेपाल राष्ट्र बैंकले अनलाइन भुक्तानीलाई सहज बनाउन आफ्नै राष्ट्रिय भुक्तानी प्रणाली ‘नेशनल स्वीच’ (राष्ट्रिय भुक्तानी द्वार) स्थापना गर्ने भएको छ ।
यसका लागि राष्ट्र बैंकको भुक्तानी व्यवस्थापक विभागका निर्देशक सुवास घिमिरेको संयोजकत्वमा गठित समितिले प्रारम्भिक अध्ययन गरिरहेको छ ।
विद्युतीय कारोबारलाई स्वचालित र छरितो बनाउन राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न लागिएको हो । यद्यपि, स्वीचले पहिलो चरणमा सरकारको राजस्व संकलन र भुक्तानीको मात्र काम गर्ने राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकको भुक्तानी व्यवस्थापक कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार उक्त समितिले स्वीच सञ्चालन गर्दा केकस्ता अप्ठ्यारा छन् भन्ने विषयमा अध्ययन गर्नेछ ।
‘समितिको प्रतिवेदन तयार भएपछि त्यसमाथि अर्थ मन्त्रालय, सूचनाप्रविधि केन्द्रसँग पनि छलफल हुन्छ । त्यसैका आधारमा नीति बनाउँछौं,’ उनले भने, ‘नेशनल स्वीच भुक्तानी द्वारका लागि काम गर्ने एउटा प्रणाली हो ।
शुरूमा यो राजस्व संकलन र भुक्तानीलाई व्यवस्थित गर्न केन्द्रित हुनेछ । दोस्रो चरणमा सबै बैंकको एउटै स्वीच प्रणाली बनाउने योजना छ ।’
उनले ई–सेवा, खल्ती, आईएमइ–पेलगायत वालेटबाट राजस्व तिर्न सकिए पनि ती त्यति उपयोगी नभएको बताए । ‘यस्ता वालेटलाई पनि यही प्रणालीमा जोड्न सकिन्छ ।
त्यसैले वालेट र कार्डलाई नेशनल स्वीचमा जोडेर राजस्व संकलन तथा विद्युतीय कारोबारलाई सहज र भर पर्दो बनाउँछौं,’ उनले बताए ।
नेशनल स्वीच आएपछि राजस्व संकलन अनलाइनमार्फत गर्न सहज हुने उनको भनाइ छ । उनले भने, ‘दूरदराजमा बस्ने मानिस थोरै रकमको राजस्व भुक्तानी गर्न कार्यालयसम्म पुग्नुपर्ने बाध्यता छ ।
यो प्रणाली आएपछि उनीहरूलाई राजस्व कार्यालयसम्म धाइराख्नु पर्दैन ।’ यो समाचार आजको आर्थिक अभियानमा छ ।









