नेपालगन्ज : आर्थिक वर्ष २०७७/०७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
यस आर्थिक वर्षमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । ती क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागकी निमित्त महानिर्देशक जानुका पण्डितले बताउनुभयो ।
अठारौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको पूर्वसन्ध्यामा कृषि विभागले आइतवार कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्षको धानको उत्पादनको सम्बन्धमा बताएको हो । विभागले यस वर्ष अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफलमा एक प्रतिशत र धान उत्पादनमा एक दशमलव ३ प्रतिशतले वृद्धि भएको जनाएको छ । निमित्त महानिर्देशक पण्डितले आउँदा दिनमा धान बालीको उत्पादकत्व वृद्धिको दरलाई अझै फराकिलो र दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
देशमा धानको उत्पादन वृद्धि गरी खाद्य सुरक्षाको अवस्था सुधार गर्न, धानमा आत्मनिर्भर बन्न र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आयमा वृद्धि गर्न सकिने आधारहरू रहेको उहाँले बताउनुभयो । पछिल्लो ३० वर्षमा धान उत्पादनमा ६० प्रतिशत र उत्पादकत्वमा झन्डै ५९ प्रतिशत वृद्धि भएको पनि विभागकी निमित्त महानिर्देशक पण्डितले बताउनुभयाे ।
हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइने गरिएको छ । यस वर्ष ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धान दिवस मनाइने उहाँले बताउनुभयो ।










