रामु ओली

मनभित्रको चरम हुटहुटी , शैक्षिक इभेन्टहरु प्रति इभेन्ट कम्पनीको बेवास्तापन र भएका शैक्षिक इभेन्टहरु स्वदेशी तथा बिदेशी कलेजहरुका लागी विद्यार्थी भर्नाका स्रोतहरु मात्रै भैदिदा अनि नेपालगन्जका मिडियामा दैनिक जसो छाइरहने र सामाजिक संजालमा देखिने पोस्टहरुले शैक्षिक इभेन्ट भन्दा सौन्दर्य , भ्रमण, खेलकुद, गायन, नृत्य जस्ता अतिरिक्त क्रियाकलापका इभेन्टले मात्रै प्राथमिकता पाउँदा मनमा कताकता एउटा नैरास्यताले बिज रोप्ने गरेको आफ्नै अनुभव थियो ।
कारणहरु पल्टाउने प्रयास गर्दा , छलफल र भलाकुसारी गर्दा र नेपालगन्जका हरेक जसो इभेन्टलाई नजिकै देखि नियाल्दा मनले एउटा हुटहुटीको चरम सिमा पार गर्दै अन्य इभेन्टकै मोडालिटिमा , त्यही तामझाम र प्रचारबाजीमा शैक्षिक क्षेत्रलाई छुने , स्पर्श गर्ने र भरणपोषण गर्ने वक्तिव्यकला प्रतियोगिता अर्थात नेपालगन्ज स्पिच कम्पिटिसन २०२० ले मनभित्र कतै आफुलाई बिजारोपण गरेको आभास गरेको थिए ।
भर्खरै सुरु गरेको अन्लाईन पोर्टल नागरिक समाज डटकमले नजाँनिदो रुपले आफ्नो पाईला नाप्दै थियो , जुन उदेश्यले हाम्रो टिमले अग्रज दाजुहरुको सल्लाह अनुरुप नागरिक समाजलाई नागरिकको बिचमा जन्माएको थियो त्यसलाई नागरिककै बिचमा हुर्काउनु, बढाउनु अनि नागरिककै आवाज बोल्न सक्ने बनाउनु चुनौतीका बिच ‘बोल्ने छ नेपालगन्ज’को नारा बोकेर नागरिक समाजले पहिलो प्रयास थाल्ने हाम्रो टिमले निधो गर्यो अनि जन्मियो नेपालगन्ज स्पिच कम्पिटिसन २०२० ।
एउटा कोठा , एउटा हल , एउटा स्कुल वा स्थानमा सुरु भएर दुई तीन घन्टामा त्यहीँ नै सकिने हाम्रो परिवेशको वक्तित्वकला प्रतियोगिता कति स्कुल , संस्था वा स्थानिय निकायलाई झारा टार्ने काम मात्रै भएको अनुभव आफ्नै अगाडी थियो ।
चिया पकाउने र तरकारी बोक्नेहरु समेत ( काम विशेषलाई अपहेलना गर्न खोजिएको हैन , गलत अर्थ लागेमा क्षमा चाहान्छु ) सेलिब्रेटी हुने अहिलेको डिजिटल युगमा आवाज बुलन्द गर्ने , आवाज बिहिनहरुको आवाज बन्न प्रेरित गर्ने वक्तित्वकला प्रतियोगिता भने तिनै कोठा भित्र नै हराउँदै गएको यथार्थले कति रात सुत्न दिएन , मीठो निद्रा देखि केही रात टाढा बस्नु परेको यथार्थ म संगै मेरो टिमको थियो ।
ठूलो धनराशि , सामाजिक संजाल र मिडियामा स्थान , अन्य इभेन्टकै स्तरियता जस्ता कुरालाई ध्यान दिने र नेपालगन्जमा केही नयाँ सुरुवात गर्ने हाम्रो टिमको योजनाले मुर्तरुप लिदै थियो । सहयोगीहातहरु बढ्दै थिए । अग्रजहरुको हौसला , प्रेम , साथ र सहयोगले हामिलाई उर्जा थपेको थियो ।
तर …
नेपालगन्जका धेरै जसो कलेजहरुले विद्यार्थी पठाउन नसक्ने आसयका बोलिहरु सुन्दा कताकता हामिले सुरुवात गर्न खोजेको आयोजनामै खोट छ कि भन्ने सन्देहले घेर्न मनलाई लामो समय लागेन ।
नेपालगन्जको परिप्रेक्षमा ठूलो धनराशिको प्रतियोगिता त्यसैमा ३० बर्ष मुनिका सबैले भाग लिन पाउने हाम्रो निर्णयले गर्दा केही कलेजहरुले हाम्रा विद्यार्थीले भाग लिनुको औचित्य नभएको पुष्ठि गरिदिदा आश्चर्यबोध बनायो ।
कुनै समयका वक्तित्वकलाका राष्ट्रिय च्याम्पियन सन्तोष खड्काको शब्द सापटी लिने हो भने – यस्तो प्लेटफर्ममा विद्यार्थी सहभागी नबनाउनुले त्यो स्कुल तथा कलेजको बौद्धिकतामा प्रश्न चिन्ह खडा हुने बताएका थिए ।
हाम्रो पहिलो सुरुवात थियो , इभेन्ट र कार्यक्रमको अनुभव थिएन , कलम चलाउने र पर्दा पछाडी बसेर फोटो , भिडियो अनि समाचार बनाउने हामीमा कयौं कमजोरी थिए र छन् । र पनि ती कमजोरी हाम्रो कमजोरी नबनुन भन्ने हाम्रो टिमको मान्यता थियो ।
सबै क्रीकेटरले पनि पहिलो बलमै चौका र छक्का पक्कै हान्न सक्दैनन् । पहिले बलरलाई बुझ्ने प्रयास गर्छन् , केही समय फिल्डलाई बुझ्ने कोसिस गर्छन् त्यसरी नै हामिले पनि सिक्न र बुझ्न कै लागि भएपनी सुरुवात गर्नु पर्छ भन्ने भावनाले नेपालगन्ज स्पिच कम्पिटिसन २०२० सुरुवात गर्ने कोसिस गरेका छौं ।
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष समेत रहेका मेरा गुरु झलक गैरेले भने जस्तै नबोल्दा नेपालगन्जले धेरै गुमाएको छ ।हामी स्वयं नबोले पनि बोल्नेहरुको लागी स्टेज तयार गर्नु पर्छ भन्ने मान्यता दृढ बन्यो । गुरुले पत्रकारितामा देखाएको बाटो अनि हौसलाले यो बाटो तय गर्न हामिलाई धेरै हद सम्म प्रेरित गर्यो ।
नेपालगन्ज स्पिच कम्पिटिसनले सुरुवातमै भिडियोको कल्पना गरेको थियो । हरेक प्रतिस्पर्धीको भिडियो सामाजिक संजालमा बोल्दै हिड्ने छन् । नेपालगन्जले बोलेको कुरा सारा बिश्वले सुन्ने छन् । अनि हेर्नेछन त्यो बोली बोल्ने प्रतियोगिलाई ।
यँहि अभिप्रायले हाम्रो टिमले सुरुवात गर्ने कोसिस गरेको नेपालगन्ज स्पिच कम्पिटिसन २०२० नेपालगन्जको इभेन्ट हो जसलाई नेपालगन्जले नै प्रवर्द्धन गर्नु पर्छ ।
नागरिक समाज डटकमले सुरुवात गरेको यो प्रयासले प्रयियोगिका बोलीलाई डिजिटल मिडियामा पुर्याउनु र दुनियाँलाई सुनाउनु हाम्रो योजना हुन् । जस अनुरुप हामिले कोसिस गरेका छौं । प्रायोजक र सहयोगी संस्थाहरुलाई यसको श्रेय जान्छ । सन्तोष खड्का , भोजराज शर्मा र भरत बिष्ट निर्णायक मण्डल धन्यवादका पात्र हुन् । झलक दाजु र दामु दाइ सबैका श्रेय हुन् ।
अनि हाम्रो टिमलाई सधै उर्जा दिने , हिम्मत दिने, सहि र गलत सिकाउने, निष्क्रिय हुदा चलायमान गराउने, अभावमा अभावको महसुस हुन नदिने दाजुहरु समग्र हाम्रो कामको अभिभावक हुन् ।










