नेपालगन्ज :

क्यान महासंघ बाँके शाखाको आयोजनामा फागुन २० देखि २४ गतेसम्म नेपालगन्जमा हुने क्यान इन्फोटेक मेलाको आकर्षणको रुपमा रहेको पबजी गेमिङ्ग विजेतालाई ३० हजार रुपैयाँको पुरस्कार राशी दिने क्यानले घोषणा गरेको छ ।
त्यस्तै पब्जी गेमिङ्ग प्रतियोगिताको उक्त प्रतियोगितामा द्धितीयलाई रु १५ हजार र तृतीयलाई रु ५ हजार राशीको पुरस्कार व्यवस्था गरिएको छ भने सेल्फी प्रतियोगिताको पुरस्कार रु ५१ सय राखिएको छ ।
आयोजकले क्यान मेला आयोजनास्थलमा सेल्फी प्वाईण्ट राख्ने छ र उक्त ठाउँमा खिचेको सेल्फी क्यान महासंघको फेसबुक पेजमा ट्याग गर्नुपर्ने छ ।
त्यसरी ट्याग गरिएको फोटोमा जसको सबैभन्दा धेरै लाईक आउँछ उसलाई बिजेता घोषणा गरिने आयोजकले बताएको छ ।
त्यस्तै टिकटकको पुरस्कार राशी पनि रु ५१ सय कायम गरिएको छ । सूचना प्रविधिसंग जोडिएको टिकटक बनाएर आफ्नो आईडीमा अपलोड गरी क्यान महासंघ बाँकेको फेसबुक पेजमा ह्यास्ट्याग गर्नुपर्ने छ ।
उता क्यान महासंघ बाँके शाखाको नेपालगन्जमा हुने क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको समेत जनाएको छ ।











