काठमाडौं :

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति दिन अनिश्चितकालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै सरकारले श्रम स्वीकृति नदिन निर्णय गरेको हो ।
विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको छ । विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए ।
नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसबाट आक्रान्त भएपछि नेपाल सरकारले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।
संक्रमित बढ्दै गएपछि कोरिया र कतारले विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाइसकेका छन् भने कुवेतले सबै उडानहरु रोकेपछि स्वतः अन्य मुलुकका नागरिक भित्रिन पाएका छैनन् ।
विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ ।









