रामु ओली :

कोरोना भाइरस बिश्वब्यापी रुपमा महामारीको रुपमा सन्त्रास फैलाउदै बिश्वको अधिकाशं देशहरूमा फैलिरहेको अवस्थामा नेपाल र विशेषगरी हामी बसोबास गर्दै आएको नेपालगन्ज समेत अछुतो रहने कुरो भएन ।
विश्व स्वास्थ्य संगठन (डब्लूटीओ) ले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताउदै आएको छ भने नेपालगन्ज खुल्ला सिमाना र छिमेकी देश भारतको लखनउमा कोरोना संक्रमीत भेटिसक्दा नेपालकै परिप्रेक्षमा पनि नेपालगन्ज उच्च जोखिममा रहेको प्रस्ट छ ।
यति हुदा हुँदै पनि नेपालगन्जमा कोरोना प्रती कुनै सावधानी अपनाएको जस्तो आभास जनताले प्रत्यक्ष महसुस गर्न पाएका छैनन् ।
एक दिन अगाडि कोरोनाको लागि सिमा क्षेत्रमा कस्तो किसिमको चेकजाँच गर्दै छ भन्ने हेतुले संचारकर्मिहरुको जम्बो टोलि जमुनहा नाकामा पुग्दा निर्वाध रुपले भारत बाट नेपाल प्रवेश गरेको दृश्य देख्न सकिन्थ्यो ।
सिमा नाकामा पुगेको ३० मिनेटको अन्तरालमा जब हाम्रा सहकर्मीले क्यामेरा र बुम माइक निकालेर दृश्यहरु कैद गर्न थाले अनि मात्र प्रहरिले भारतबाट नेपाल प्रवेश गर्ने हरेकलाई लाइनबद्द गर्दै कोरोनाको लागि चेकजाँच गर्न थाले । त्यो दृश्य आफैमा हास्यास्पद र लज्जास्पद थियो ।
हाम्रो सहकर्मीले जब सिमानाकामा खटिएका स्वास्थ्यकर्मिलाई चेकजाँच कसरी हुँदै छ र किन निर्वाध रुपमा बिना चेकजाँच नेपाल प्रवेश गर्दै छन् भन्ने सोधिएको प्रश्नमा उनिहरुको जवाफ पनि हास्यास्पद नै थियो ।
उनिहरुको अनुसार नेपालगन्जबाट किनमेलका लागि जाने र भारतमा लामो समय बसेर फर्किनेहरुलाई उनिहरुले पहिचान गरेर चेकजाँच गर्ने गरेको बताए । हुन सक्छ खरिदार गरेर फर्किने र लामो समय भारतमा बसेर नेपाल फर्किनेहरुका बिचको अन्तर उनिहरुले सजिलै पत्तो पाउनेछन् तर बिश्वब्यापी रुपमा सन्त्रास फैलाइरहेको कोरोनाको मामिलामा हल्का रुपमा लिइनु र सोच्नु कदापि सहि हुनेछैन ।
नेपाल र नेपालगन्जको हकमा नत मास्क प्राप्त छ नत सेनिटरी ह्याण्डवास बजारमा प्राप्त गर्न सकिन्छ । स्थानिय सरकार , प्रशासन समेत मौन जस्तै छ । नत भिडभाड हुने स्थानहरुमा रोक लगाएको नै छ यस्तो अवस्थामा निर्वाध रुपमा भारतबाट नेपाल प्रवेश गर्ने हो भने कोरोना नेपाल छिर्न कुनै बेर लाग्दैन ।
कोरोना नेपाल प्रवेश गरेपछिको भयावह अवस्था कस्तो हुनेछ सायद त्यो हामी सबैले कल्पना गरेको भन्दा ज्यादै डरलाग्दो हुनेछ । यस्तो अवस्थामा नेपालगन्ज प्रवेश गर्ने नाका बन्द गर्नुको विकल्प केही छ जस्तो लाग्दैन यो पङ्तिकारलाई ।
जीवन भन्दा अर्को ठूलो केही छैन । स्वास्थ्य भन्दा ठूलो भारतिय नाकाबाट भित्रीने सामान र खाद्यान्न होइन । जीवन रहेन ती खाद्यान्नको उपयोग हुने हो । जीवन बाचे न भारतबाट गरिने ब्यवसाय रहने हो । यति साधारण कुरो नबुझ्ने हामी नेपालगन्जबासी पक्कै छैनौं ।
नेपालगन्ज हुँदै भारत जाने र भारत हुँदै नेपालगन्ज छिर्ने यात्रीहरुमा केही हप्ताकै लागि भएपनी पुर्णरुपमा रोक लगाउन जरुरी देखिन्छ । दैनिक हजारौंको संख्यामा आवतजावत रहने नाकालाई पुर्ण रुपमा बन्द गर्न सके कोरोना नेपालगन्ज भित्रन नसक्ने जानकारीहरुले बताउदै आएका छन् । यस्तो अवस्थामा हामि नेपालगन्जबासिले कुनै किसिमको रिस्क लिन नहुने मेरो ब्यक्तिगत मान्यता हो ।
मालबाहक ट्रक र विशेष परिस्थितिमा भित्रने सवारीसाधन बाहेकका सबैलाई रोक लगाउन सके मालबाहक सवारीसाधन र विशेष परिस्थितिमा भित्रने सवारीसाधनलाई कडाइका साथ चेकजाँच गर्न सम्भव रहन्छ ।










