‘चिया गफ’मा चिया गफ

रामु ओली :

चिया गफमा चिया गफ

अनेकौं कोरिएका छरपस्ट अक्षरहरु मध्ये सुरुमै आँखा एउटा शब्दमै रोकियो । अंग्रेज़ीमा लेखिएको थियो – ‘चिया इज लाइफ , इट इज नट टि , चिया इज इमोसन’ कमजोर अंग्रेज़ीको जानकार भएपनि यो लाइन बुझ्न मलाई घोत्लिनु परेन । म जस्तो चिया पारखीको लागी यो लाईनले छुन सम्म छोयो । दिलको कुनाकुनामा ।

साथिहरुले चिया मगाउँदै गर्दा मार्कर उठाएर त्यसैको नजिकै दुई लाइन नेपालीमै थपिदिएँ- धेरै रुचाइएका स्टोरीहरु चिया र चुरोटकै भरमा लेखिएका छन् ‘

चियासंगै चुरोट पनि थपिदिए ,कारण हरेक टेबलमा मट्काका स्ट्रेहरु लडिरहेका थिए । मलाई लाग्यो चियासंगै चुरोट तान्नेहरुको भिडले पक्कै रमेको छ यो ‘चिया गफ’

मधुरो एकपछि अर्को फरक किसिमका पार्श्वमा गुन्जिएका नेपाली गितहरु , छिन छिनमा आउँदै रित्तिदै गरेका विभिन्न स्वादका चिया भरिएका मट्काहरु, बादल जस्तै मडारिएका चुरोटका मुस्लाहरु अनि आफ्नै साहित्य र मोनोलगले भरिएका भित्ताहरु हामी बिच ‘चिया गफ’मा चिया गफ सुन्दै छन् ।

कोरोना , नेपालगन्जको पत्रकारिता, चिया , मोबाइल, फेसबुक, अनि साथिहरुले बेलाबेलामा ‘चिया गफ’को सीसाहरु बाहिर पुर्‍याउदै सिकार गर्दै गरेका छरुवा नयनहरु एकपछि अर्को बहसको विषय बन्यो ।

‘चिया गफ’का भित्ताहरुमा लेखिएका र हाम्रा साथीहरुले लेखेका मनोलगहरुले माहोल बदलिँयो । एक पछि अर्को गजल अनि अनेकन भेज र ननभेज गफहरु चिया गफले सुन्यो ।

नयाँ कन्सेप्ट , नयाँ तरिका , नौलो नाम , अनि चियालाई युवा माझ स्थापित गराउने गज्जबको काइदा लाग्यो चिया गफको त्यो अवधारणा । चिया प्रति ब्यक्ति पिच्छेकै आ-आफ्नै धारण होलान् । जसमध्ये मेरा धारणा गलत होलान , मैले लेखेका शब्द गलत होलान् । तर म चिया पारखीलाई चिया गफले लोभ्याएकै हो । अनि मैले ‘चिया गफ’को भित्तामा लेखेको दुई शब्द मेरै हुन् , त्यसमा सहमत हुनै पर्ने कुनै बाध्यकारी प्रावधान पनि छैन ।

कसैले ‘चिया गफ’को भित्तामा लेखे जस्तै चिया चिया होईन , चिया जिन्दगी हो , चिया भावनात्मक सम्बन्ध जोगाउने एउटा मीठो कडि पनि हो, मलाई यस्तै लाग्छ । बिहानै कसैलाई भेट्न उत्तम बहाना बनी दिन्छ चिया र चिया गफ । भेटेर केही बात मार्ने आधार पनि । चिया गफको अर्को फाइदा सार्थक निर्णय हो । मलाई यस्तै लाग्छ ।

केही बर्ष अगाडी सम्म मलाई लाग्थ्यो रक्सी भट्टिमा सुनिने कथाहरुले नै अक्सर उपन्यासका पानामा स्थान प्राप्त गरेका छन् , कारण मेरा लागि भट्टि प्यारो थियो । सायद ती दिनमा त्यही कुरा सत्य पनि थिए होलान् । त्यसैले भट्टीहरु अक्सर प्यारो लाग्थ्यो , मन भुल्थ्यो , कहिलेकाहीँ साथीभाइहरु पनि भुल्थे तर यादहरु सरसरती ओकलिन्थे अनि उपन्यासका शब्दहरू सापटी लिदै आफ्नै कथाहरूमा उतारिन्थे कहिलेकाहीँ भट्टीका शब्दहरू उपन्यासकारले हामीसंगै सापटी लिन्थे। त्यसैले अधिक प्यारो लाग्थ्यो तर आज मेरो लागि चिया पसलका झुपडीहरु प्यारा लाग्छन् , टि स्टलहरु त कहिले काहीं चिया पसलका मुडा र आगन प्यारा लाग्छन् । अनि बकम्फुसे नै किन नहुन चिया र चिया गफका ती अनेक भेज र ननभेज गफहरु मिठास लाग्छन् , चियाको पहिलो चुस्की जस्तै । र त आज भोलि मेरा धारणाहरुले कोल्टे फेरेको छ, मेरो दैनिकीले कोल्टे फेरेको छ , मेरा सर्कल र पाइलाहरु फेरिएका छन् , र पनि भट्टीदेखि चिया गफ सम्मको यात्रामा मनले चिया नै प्यारो मानेको छ ।

अनि लाग्छ आज चिया गफले सत्यता बोध गराउछ , अक्सर चिया पसलमा चियाको प्रत्यक घुट्की संगै बुनिएका योजनाहरु सफल हुन्छन् । त्यसमा आफ्नै अनुभव छ । आफ्नै भावना र मन बलियो छ । किनकि चिया गफमा भुल्ने मान्छे अक्सर फुर्सदिला पक्कै हुन्छन् । फुर्सदिला मान्छेले फुर्सदमा बुनेका योजानहरु स्वभाविक बलिया हुन्छन् ।

अनेकौं जुक्ति र तिकडमका बिच उब्जिएको योजनाले जुगाडकाबीच सफलता हासिल गरिरहँदा चिया गफको महत्व भट्टि भन्दा अधिक भैदिन्छ मेरा लागि। तर यहाँ पनि यो नियम सबैले मन्नै पर्ने बाध्यात्मक ब्यवस्था भने छैन । किनकी यो मेरो नितान्त चिया गफमै उब्जिएका शब्दहरू हुन् । चिया गफकै बिच पोखिएका धारणाहरु हुन् ।

प्रतिक्रिया