
तस्बिर :रामु ओली / नागरिक समाज
विश्व जगतलाई नै त्रासमा बाच्न बाध्य पारेको कोरोना भाइरस र कोरोना संक्रमणको जोखिमका बिच गाउँ घरका किसानहरूलाई कोरोना संगै खेतमा पाकेको गहुँको चिन्ता छ । जानकी गाउँपालिका वडा नम्बर दुईका श्याम सुन्दर यादव बिहीवार आफ्नो बारिमा काटेर राखेको गहुँ थ्रेसरको प्रयोग गरेर स्याहार्दै थिए ।
यतिबेला यादव मात्रै होईन यादव जस्तै बाँकेका किसानले दोस्रो प्रमुख बालिको रुपमा रहेको गहुँ स्याहार्न ब्यस्त छन् । कृषिमा आधारित हाम्रो देश , त्यसैमा अन्नको भण्डारको रुपमा परिचय बोकेको नयाँ मुलुकको एउटा जिल्ला हो बाँके । यहाँका जनताको प्रमुख पेशा नै कृषि हो । कृषि कर्म संग नजिक रहेका यहाँका जनता गहुँ पाके संगै खेतमा देखिन थालेका छन् ।
बिगत एक दशक देखि कृषि यान्त्रिकरणमा जोड दिदै आएका यहाँका किसानहरूले धान तथा गहुँको लागि थ्रेसरको प्रयोग गर्दै आएका छन् । यतिबेला गहुँ काट्नलाई प्रयोग हुने थ्रेसर र अन्य आधुनिक कृषिका औजार चलाउन भने उति सजिलो छैन । लकडाउनले गर्दा सजिलै तेल नपाइने र तेल लिन सजिलै जान सक्ने अवस्था नभएका कारण किसानहरु केही मर्कामा परेका छन् ।














