
बुटवल । प्रदेश ५ सरकारले किसानहरुका लागि ४४ वटा पिक अप भ्यान लाई ‘कृषि एम्बुलेन्सको’ रुपमा उपलब्ध गराउने भएको छ ।
कोरोना महामारीका कारण समस्यामा परेका किसानहरुको हितलाई मध्यनजर गरी प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो योजना अघि सारेको हो ।
मन्त्रायलले किसानहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य खाद्य वस्तुको आपूर्ति तथा बिक्री वितरणको लागि त्यस्तो योजना ल्याएको बताएको छ ।
मन्त्रायले अनुदानमा उपलब्ध गराएका ३४ वटा र सरकारी १० वटा गरी कुल ४४ वटा पिक अप भ्यान लाई ‘कृषि एम्बुलेन्सको’ रुपमा उपलब्ध गराउने निर्णय गरेको प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले जानकारी दिए ।
उत्पादक किसान, सहकारी संस्था तथा व्यवसायीहरुलाई सहुलियत दरमा तरकारी, फलफुल, दुध,माछा, मासु तथा अन्य उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउनको लागि पिक अप भ्यान परिचालन गर्न लागिएको उनले बताए ।
पिकअ भ्यानको न्युनतम भाडा कृषि उद्यमी तथा कृषि सहकारीहरुले नै व्यहोर्ने छन् भने आवश्यक ईन्धन कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रले व्यहोर्नेछन् ।
मन्त्रालयका सचिव तेजबहादुर सुवेदीका अनुसार किसानहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रुपमा बिक्री वितरण तथा ढुवानीका लागि सहज वातावरण मिलाउन मन्त्रालयले यो निर्णय गरेको बताए । व
त्यसका लागि प्रत्येक जिल्लामा एक–एकवटा सम्पर्क कार्यालय तोक्ने र ती कार्यालयले मन्त्रालयले तयार गरेको ढुवानी साधन ब्यवस्थापन प्रणालीमार्फत सवारी पास उपलब्ध गराउने जनाइएको छ ।










