तीन महिनामै २८ लाख ग्राहक टेलिकमको फोरजी सेवामा आबद्ध

काठमाडौं

तीन महिनामै २८ लाख ग्राहक टेलिकमको फोरजी सेवामा आबद्ध

आसोजको दोस्रो साता एकैपटक ३६ जिल्लाका ५० शहरमा फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले करीब ३ महिनाको अवधिमा आफ्नो फोरजी सेवाअन्तरगत २८ लाख ग्राहक आबद्ध भएको बताएको छ ।

मङ्गलबारसम्मको तथ्याङ्क अनुसार टेलिकमको कुल फोरजी ग्राहक ३६ लाख पुगेको छ । असोजको दोस्रो सातासम्म यो सङ्ख्या मात्र ८ लाख थियो ।

पछिल्लो समय फोरजी ग्राहकको सङ्ख्या ह्वात्तै बढ्नुमा टेलिकमले यो सेवा मुलुकभर पुर्याएपछि यसअघि थ्रीजी सेवा लिइरहेका ग्राहकहरु फोरजीमा स्तरोन्नति हुनु प्रमुख कारण हो ।

नेपालमै पहिलो पटक २०७३ पुस १७ गते फोरजी सेवा शुरु गरेको टेलिकमको यो सेवा असोजको दोस्रो सातासम्म राजधानी काठमाडौँ र पोखरामा मात्र सिमित थियो ।

टेलिकमका अनुसार असोजयता फोरजीमा आबद्ध भएकामध्ये ७ लाख ग्राहकले नयाँ फोरजी सिम लिएका हुन् ।

टेलिकमले हाल ६२ जिल्लाका मुख्य शहर र नगरपालिकाका एक हजार ५४ भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया