जगतदल जनाला विक
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले आफुले गरेको निर्णय फिर्ता लिएको छ । बुधबार देखि सबै पसल सञ्चालन गर्ने निर्णयबाट सुर्खेत उद्योग वाणिज्य संघ पछि हटेको छ । जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि तत्काल पसल नखोल्ने सहमति भएको हो ।
मङ्गलवार एक विज्ञप्त जारी गर्दै संघले भोलि जेठ २१ गतेदेखि सम्पूर्ण पसलहरु सञ्चालन गर्ने घोषणा गरेको थियो । संघको उक्त विज्ञप्ती आएलगत्तै प्रशासनले संघका पदाधिकारीहरुसँग छलफल गरी तत्काल पसल सञ्चालन नगर्ने सहमति जुटाएको हो ।
लकडाउनले व्यवसायीहरुमा परेको प्रभाव र यसलाई सहज बनाउनका लागि आगामी दिनमा थप छलफल गर्ने र हाललाई पूर्ववत् रुपमै तोकिएको वस्तुहरुको मात्र पसल सञ्चालन गर्ने सहमति भएको प्रशासनद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
लकडाउनले व्यवसायीहरु समस्यामा परेको र सरकारले पनि राहत प्याकेज नल्याएको भन्दै संघले मंगलवार विज्ञप्तिमार्फत शनिवार बाहेक हरेक दिन विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न संघले सबै व्यवसायीहरुलाई आग्रह गरेको उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले बताए ।
तर उक्त घोषणा भएको केहि घण्टा नबित्दै संघ आफ्नो निर्णयबाट पछि हटेको हो ।











