बाँके :

नेपालगन्ज देखि ८ किलोमीटर खजुरा र खजुरा देखि १ किलोमीटर भित्र बि गाउँमा चार बिगाहा भन्दा बढी क्षेत्रफलमा रहेको ग्रीन फर्म दिनप्रतिदिन सबैको नजरमा पर्दै गएको छ ।
सम्भवत खजुरा क्षेत्रमै पहिलो व्यवसायीक रुपमा २०७४ सालको सुरुवातमा केरा खेतिमा प्रवेश गरेका खजुरा गाउँपालिका वडा नम्बर ३ का पवन उपाध्याय र उनको परिवारले पहिलो वर्ष करिब पाँच लाखको लगानीमा केरा खेतिको लागि ग्रीन फर्मको सुरुवात गरेका थिए ।
‘सरकारले पनि बाँके बर्दियालाई केरा खेतिको हबको रुपमा लिएको थियो त्यसैले पनि कृषिमा पेशामा लाग्दा केराबाट नै प्रवेश गरियो , सुरुवातमा आफ्नै दुई ढाइ बिगाहा जमिनबाट केरा लाउन सुरु गरेको थियौं । त्यसबेला लगभग ५ लाख जति लगानी पर्न गएको थियो ।’ पवनले उपाध्यायले बताए ।
धेरैले कृषि कर्ममै आफ्नो भबिस्य बनाइरहेका देखेका र सुनेका उनले आफ्नो मनले पनि कृषि कर्म उत्तम हुन्छ भन्ने कुराले जरा गर्दै गए पछिको प्रतिफलको रुपमा ग्रीन फर्म स्थापन भयो -उपाध्याय बताउछन् ।
‘हाम्रै जिल्लामा पनि कृषि पेशामा राम्रो गरेका धेरै उदाहरण छन् , बाहिर पनि त्यस्ता कयौ उदाहरण छन् , त्यसैले पनि आफ्नै गाउँ र घरमा बसेर कृषिमै केही गर्छु भन्ने लागेर काठमाडौं बाट जागिर छोडेर घर सल्लाह पछि केरा खेती तर्फ लागे ‘ उनले भने ।
पहिलो वर्ष जम्मा ५ लाख जसबाट २ बिगाहा क्षेत्रफलमा केरा लगाइएका उपाध्यायले ८ लाख बढीको केरा बेचेका थिए । उनले काचो केरा सरदर ५० देखि ६० रुपैया दर्जनका मुल्यमा घरबाटै बिक्री गरेको बताउछन् ।
केराको बिक्रीका लागि बजार उनले खोज्नु नपरेको उनको अनुभव सुनाउछन् । केरा खरिदको लागि उनको घरमै खजुरा , नेपालगन्ज , सि गाउँबाट व्यापारीहरु उनको घरमै आउने गरेको बताउछन् । गत साल भने कोहलपुर सम्म बेचेको उनको सम्झना छ तर यो साल उत्पादन भन्दा माग बढी भएकोले स्थानिय बजारमै पुर्याउन धौधौ भएको उनले बताए ।
पहिलो वर्षको केरा खेतिको अनुभव र उत्पादनले हौसिएका उपाध्याय र उनको परिवारले यो वर्ष ६ बिगाह जमिनमा केरा खेती सुरु गरेका छन् ।
उनको घर देखि करिब दुई किलोमीटर टाढा रहेको ‘क’ गाउँमा चार बिगाह जमिन भाडामा र घर नजिकै अरु दुई बिगाह जमिन भाडामा लिएर हाल जम्मा ८ बिगाह जमिनमा केरा खेती गर्दै आएका छन् ।
सुरुवातमा ५ लाखको लागतमा ग्रीन फर्मको स्थापना गरि केरा खेती गरेका उनले हाल केरा खेतिमा ३५ लाख भन्दा बढी लगानी गरिसकेका छन् ।
जसमा प्रदेश सरकारले पुरस्कार स्वरुप दिएको १० लाख अनुदान समेत सामेल छ । उनलाई बैकल्पिक उर्जाबाट समेत सोलार प्यानल सहयोग स्वरुप प्राप भएको उनी बताउछन् ।
कृषिमा केही गर्ने अठोट लिएपछी र केही राम्रो गर्न सके सरकारले पनि हेर्ने गरेको उनको अनुभवले बताउछ । तर उनी युरिया , पोटास जस्ता रासायनिक मलको अभावले कहिलेकाहीँ निरास हुन्छन् ।
बजारमा बेलामौकामा हुने रासायनिक मलको चरम अभावले खेतिलाई असर गर्ने उनको जिकिर छ ।
तर उनी अत्याधिक रुपमा गोबर मलको (कम्पोस्ट मल )प्रयोग गर्ने गर्छन् । जसको लागि उनी आफैले पनि घरमा मल तयार गर्छन भने नपुग कम्पोस्ट मल चाहिँ गाउँ घरबाट संकलन गर्ने गरेको बताउछन् ।
कोहलपुर स्थित नेपाल कृषि बिकास फर्मबाट केराको नयाँ बिरुवा लिदै आएका उनले यो बर्ष उनले ६ बिगाहा जमिनमा १८ हजार बढी नयाँ केराका बिरुवा लगाएका छन् भने पुरानो दुई बिगाहा जमिनमा रहेको केराले उत्पादन दिदै आएको छ ।
त्यसो त उनले आफ्नो लगभग एक बिगाह जमिनमा लिप्टिसको बिरुवा लगाएका छन् । र त्यही लिप्टिसको बिरुवाको बिचमा जाजारकोटे बेसारको पनि खेती गरेका गरिरहेका छन् ।
जाजरकोटबाट ८० केजि बेसार लिएर उनले बेसारको पनि ब्यवसायिक खेतिको सुरुवात गरेका छन् । बेसार लगाएको एक बर्ष भैसकेको छ भने अर्को बर्ष मात्रै उत्पादन लिने योजनामा रहेको उनी बताउछन् ।
कृषि पेशा हेर्दा जति सजिलो देखिए पनि ठूलो मेहनत लाग्ने उनका बुवा हरि प्रसाद उपाध्याय बताउछन् । तर मेहनत गर्न सके उत्पादनले खुसी प्रदान गर्ने उनको अनुभव रहेको बताउछन् ।
विभिन्न तालिम संगै इन्टरनेट तथा युट्युबमा समेत अध्यन गर्दै केरा खेतिलाई राम्रो बनाउन लागिपरेका उहाँहरु आफ्नो केराले उचित मूल्य र बजार प्राप्त गरेको बताउछन् ।











