नेपालगन्ज :

नेपालगन्जको सामाजिक संजाल फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीले बिहीवार सुचना प्रविधि अभियन्ता महावीर पुनको परियोजनाको लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बिच नेपालगन्ज ग्यालरीका सदस्य बिबेक श्रेष्ठले सो रकम महावीर पुनले संचालन गरेको आविष्कार केन्द्रमा पुगेर हस्तान्तरण गरेका हुन् ।
नेपालगन्ज ग्यालरीले महावीर पुनलाई सहयोग गरौ ह्यासट्याग अभियान सुरु गरेर सो रकम संकलन गरेको ग्यालरीका संस्थापक एडमिन समिरमान श्रेष्ठले जानकारी गराए ।
नेपालगन्ज ग्यालरीका सदस्य तथा नेपालगन्ज आसपासका ५९ जना ब्यक्तिहरुबाट महावीर पुनको परियोजनाका लागी एक लाख २८ हजार सात सय ५१ रुपैयाँ संकलन भएको थियो ।
सूचना प्रविधि अभियन्ता महावीर पुनले आफूलाई बैंकले ऋण दिन नपत्याएको गुनासो गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पुनले आफूलाई २ वटा परियोजनाको लागि ३ करोड रुपैयाँ आवश्यक परेको तर नेपाली बैंकले नपत्याएको बताउनु भएको थियो।
उहाँले विदेशमा बस्ने नेपालीले ५, १०, १५ लाख जति सक्छन्, त्यति ऋण दिन सक्ने पनि बताउनु भएको छ । उहाँले ३ वर्षमा ऋण तिर्ने पनि प्रतिबद्धता व्यक्त समेत गर्नुभएको छ । ऋण दिन चाहनेले mahabir@nicnepal.org सम्पर्क गर्न सकिने पुनले जनाउनु भएको छ ।
विभिन्न समयमा रक्तदान कार्यक्रम , बाढी पीडितको लागि सहयोग , मृगौला पिडित अमित दर्जीको अभियान मार्फत आर्थिक सहयोग समेत गरिसकेको ग्यालरीले सामाजिक संजालबाट नै नेपालगन्जमा निरन्तर रुपमा समाजिक कार्य गर्दै आएको छ ।











