निर्देशनालयको प्रगति समिक्षा गोष्ठी खजुरामा सुरु, बेमतलवी कार्यक्रमहरुलाई कटौति गर्न प्रस्ताव

नेपालगन्ज : लुम्बिनी प्रदेश, भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गत रहेका कार्यालयहरुको प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी बाँकेको खजुरामा सुरु भएको छ ।

कृषि विकास निर्देशनालय रुपन्देहीको आयोजनामा भएको समिक्षा गोष्ठीमा हाल सम्म भएका प्रगतिका साथै निरन्तरता दिन नसकिने कार्यक्रमहरुलाई विशेष रुपमा हेरीएको छ । कोभिडका कारण प्रभावमा परेका कार्यक्रमका साथै अन्य बेमतलवी कार्यक्रमहरुलाई कटौति गर्न निर्देशनालयका निर्देशक यम नारायण देवकोटाले प्रस्ताव पेस गर्नुभएको थियो ।

निरन्तरता दिन उचित नदेखिएका कार्यक्रमहरुमा प्रावधिक धारका विद्यालयलाई दिइने सहयोग, बीउ तथा साना यन्त्र उपकरणमा दिइने अनुदान, प्रतिशत तोकी दिईने अनुदान, आरान व्यवस्थापन जस्ता सानातिना सहयोग, एकै व्यक्ति वा फार्मलाई १० लाख भन्दा बढी दिइने अनुदान कार्यक्रम लगायतका रहेका छन ।

कार्यक्रममा दोहरोपना हुन नदिन र सानातिना कार्यक्रममा बढी समय खर्च हुने साथै प्राथमिकताका विषयमा केन्द्रित हुन समय नपुग्ने देखिएकाले पनि आगामि दिनमा यस्तोलाई निरन्तरता दिन नसकिने निर्देशनालयका निर्देशक देवकोटाले प्रस्तुत गरेको प्रस्तुतिमा उल्लेख गरिएको छ ।

गोष्ठिमा काम गर्दा अनुभुत भएका समस्या र समाधानका लागी गरिएका प्रयासहरुका बारेमा जानकारी लिइएको थियो । गोष्ठिको उद्घाटन गर्दे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि आरति पौडेलले किसानको मनभावना अनुसार प्रगति देखिने गरि कार्यक्रमहरु सन्चालन गर्न सम्बन्धित कार्यालयहरुलाई आग्रह गर्नु भएको छ ।

मन्त्रि पौडेलले सन्चालित सम्पुर्ण कार्यक्रमहरुलाई सहज रुपमा सम्पन्न गर्न सकिए कृषिको विकास सम्भव भएको उल्लेख गर्नुभयो । प्रथम चौमासिक गोष्ठिमा लुम्बिनी प्रदेशमा रहेका कृषि, पशु सेवा तथा सहकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । गोष्ठि भोलि मंगलबार सम्म चल्नेछ ।

प्रतिक्रिया