स्याङ्जा । गल्याङ नगरपालिका–११ दिमिककी ६५ वर्षीया टोपला अधिकारी यति बेला दङ्ग हुनुहुन्छ । बृद्धअवस्थामा साथमै छोरा अनि छोराको कमाइले उहाँलाई दङ्ग बनाएको हो । टोपलाकी ४५ वर्षीय छोरा सूर्यप्रसाद अधिकारीले १५ वर्ष विदेशी भुँमिमा बिताए पनि सहारा चाहिने बेलामा साथमै छोरा अनि छोराको कमाइले उहाँलाई निकै खुसी तुल्याएको छ । सूर्यप्रसादले सूर्य दर्शन एग्रो फार्म दर्ता गरेर हाल दैनिक ५० लिटर दूध बिक्री गर्दै आउनुभएको छ ।अधिकारीले ९ वटा दुहुना गाई भैँसीबाट दैनिक ५० लिटर दूध बेच्दै मासिक करिब ५० हजार कमाउँदै आउनु भएको हो । उहाँले वार्षिक रुपमा खर्च कटाएर ६ लाख कमाई हुने बताउनुभयो । पशुपालन सँगै अधिकारीको फर्ममा २०० सय च्याउका गोलाबाट च्याउ उत्पादन भइरहेका छन् भने आगामी दिनका लागि पनि २०० सय गोला तयारी अवस्थामा छन् ।फार्ममा २५ लाख लगानी गरिसक्नुभएका अधिकारी भन्नु हुन्छ, ‘सरकारको सहयोग पाएमा भविष्यमा च्याउ खेती, माछा पालन, कुखुरा, टर्की पालन सँगै उक्त क्षेत्रलाई फाम स्टे समेत बनाउने योजना छ ।’ कृषि तथा पशुमा अध्ययन तथा अनुसन्धान गर्न आउन चाहानेलाई आवास सहितको फामस्टे बनाउने उहाँको योजना हो ।६५ वर्षकी आमाको साथ र दुई जना कामदार राखेर कृषि कर्ममा लागेको कृषक अधिकारीले बताउनु भयो । सकारात्मक सोचको विकास हुन नसक्दा कामदार पाउने गाह्रो हुने अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देश छाडेर विदेश जाँदा जुन काम पनि हामी गछौँ तर आफ्नै गाउँ ठाउँमा काम गर्ने प्रवृत्तिको विकास छैन । सकारात्मक सोचको अलि कमीका कारण कामलाई ठुलो र सानो भनेर हेर्न गर्दा कामदार पाउन गाह्रो छ ।’ विदेशमा राम्रै पैसा कमाएर पोखरामा परिवारलाई व्यवस्थापन गरिसक्नुभएका अधिकारीलाई गल्याङका मेयरको हौसला र आफ्नै ठाउँमा केही गनुपर्छ भन्ने स्वयम आफ्नो अठोटले आफ्नै जन्मथलोलाई विकास गर्ने प्रेरणा मिलेको हो । झन्डै २ वर्षदेखि फर्ममा लाग्नुभएका अधिकारीको आमा समेत खुसी हुनुहुन्छ ।सूर्यप्रसादकी आमा टोपला अधिकारी भन्नु हुन्छ, ‘काम नगरी बस्नु हुँदैन काम गरे हाम्रो शरीरका विभिन्न अङ्ग सञ्चालनमा आउँछन् । व्यायाम पनि हुन्छ । त्यसैले स्वस्थ हुनका लागि पनि आफू सक्दो काम गर्नु पर्छ ।’घरमै बसी बसी छोराले नगदे बाली च्याउ र दूध बचेर हातमा पैसा समाउँदा खुसी लागेको आमा अधिकारीले बताउनुभयो । दुई छोरा मध्ये एक छोरा बुटवलमा रहनुभएको छ भने अर्का छोरा सुर्यप्रसादसंगै आफ्नै गाउँमा बस्न पाउँदा निकै खुसी लागेको आमा टोपालले बताउनुभयो । आफ्ना छोराछोरीले आफ्ना बा आमा तथा परिवारसँगै बसेर आम्दानी गरोस् भन्ने चाहाना सबैको हुने भएकाले कृषिमा पनि मेहेनत गर्न सकिएमा प्रशस्त पैसा रहेको वृद्ध आमा टोपला अधिकारीले बताउनुभयो ।










