देशभर राजावादीको प्रदर्शन बढ्न थालेपछि नयाँ बहस सुरु

यज्ञराज उपाध्याय

शनिबार दिउँसो बानेश्वरदेखि माइतिघरसम्मै प्रहरीको बाक्लो उपस्थिति थियो । प्रहरी अझै थपिदै थिए भने पानीको फोहोरा फाल्ने एउटा दमकल पनि बानेश्वर कट्यो । अलि अगाडी जाँदा माइतिघरदेखी छरिएर राजाबादीहरु बानेश्वरतर्फ प्रदर्शन गर्दै आइरहेका देखिन्छन् । उनीहरु राजा शासन व्यवस्था फेरि कायम हुनुपर्ने मागसहित चर्को आवाजमा नारा लगाइरहेका छन् । माइतिघरदेखी बानेश्वर आउनेबेला बायाँपट्टीको सडक पुरै भरिएको छ । प्रहरीको उपस्थितिले पनि सडक अझै भरिएको छ ।

एक जनाको ठुलो आवाज सुनिन्छ, “राजा ल्याउँ, देश जोगाऔं” त्यस्तै उनीभन्दा पछाडि छरिएको अर्को भिडको नेतृत्व गरेकाको पनि ठुलै स्वर सुनिन्छ, “राजासंस्था जिन्दावाद ।”

सबै हातमा नेपालका झन्डा थिए । कसैले सानो झन्डा बोकेर नारा लगाइरहेका थिए त कसैले ठूलो झन्डा बोकेका थिए भने कसैले शरिरमा बेरेका थिए । राजसंस्थाको लागि नारा लाउनेमा युवाहरु नै बढी देखिन्थे । कोहि मोटरसाइकलमा त कोहि हिडेर । सडकको छेउ लेन हुँदै गुड्ने गाडी पनि मुख्य लेन हुँदै गुडिरहेका थिए । यत्तिकैमा उक्त भिड बबरमहलभन्दा अलि अगाडी होटेल एभरेस्ट अगाडी पुगेर रोकियो र सडक छेउमै एक कार्यक्रम गरेर भाषण सुरु भयो । उनीहरुको भनाई अनुसार गणतान्त्रिक व्यवस्थाले जनता निकै मारमा परेका छन् । धेरैले बोलेको सुनिएन तर एक युवाले कविताबाटै राजसंस्थाको समर्थन, अहिलेको व्यवस्थामा भएका नकारात्मक काम, व्यापक भ्रष्टाचार, कालोबजारी, बलात्कार लगायत विषय समेटेर दरो झटारो हानेको सुनियो । सडकको अर्को छेउमा पनि भिड बढ्यो ।

त्यही भिडमा उभिएर भेला हेरिरहेका बाह्य जिल्लाबाट आएका एकजनाले भनें, “यो गणतन्त्र त नेताहरुको खाने बाटो मात्र भयो । यो भन्दा त एउटा राजा ठिक थियो ।” लगत्तै कविता बाचन सकियो र सबैको तालीको तालमा ताल मिलाउदै दुई हात एकआपसमा मिलाएर फेरि भनें, “दिनदिनै केही न केही घटना घटेको सुनिन्छ । समाचार हेरिनसक्नु मात्र आउछन् । अपराधी कोहि पक्राउ भएको सुनिन्न सुनिए पनि पक्राउ परेकै दुईतीन दिनमै छुट्यो भन्ने समाचार आइहाल्छ । कानुन सोझालाई मात्र रैछ । नेताको चाकरी गर्नेवाला भए मान्छे मार्दै हिडेपनी न कानुन लाग्ने, न डर हुने ।”

काठमाडौंमा मात्र नभएर अहिले देशव्यापी रुपमा राजसंस्थाको लागि आवाज सक्रिय हुन थालेको छ । यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पनि प्रत्यक्ष संलग्नता देखिन्छ । धनगढी, नेपालगन्ज, पोखरा, जनकपुरमा स्वतन्त्र नागरिकले राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गरेका छन् भने बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडा र प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा क्रमश शुक्रबार र शनिबार हजारौं नागरिकको उपस्थितिमा राप्रपाले कार्यक्रम गरेको छ । हेटौंडामा यसअघि स्वतन्त्र युवाहरुको समुहले पनि प्रदर्शन गरेको थियो । यो विषयमा पुर्वराजाको तर्फबाट कुनै औपचारिक कुरा नआएता पनि केही मिडियाका अनुसार बाहिर राजसंस्थाको लागि भइरहेको प्रदर्शनमा आफ्नो कुनै संलग्नता नरहेको बताएको बुझिन्छ । केही मिडियामा जनताले चाहेपछि आफू जिम्मेवारी लिन तयार रहेको कुरा पुर्वराजा ज्ञानेन्द्रले भनेको पनि सुनिन्छ ।

लामो आन्दोलनपछि फेरिएको शासन व्यवस्थाले जनताले सुख, शान्तिको महसुस गर्ने आशा रत्तिभर पूरा नभई उल्टै दिनदिनै महंगी, अपराध, भ्रष्टाचार जस्ता घटना बढ्दै गएकाले त्यही जनता आफैले माग गरेको गणतन्त्रको विपक्षमा उभिएको आभास यी देशका विभिन्न ठाउँमा भइरहेका प्रदर्शनले गराइरहेको छ । तरपनि विभिन्न पार्टीका नेता, कार्यकर्ताले भाडाका मान्छेले गणतन्त्रको विरोध गरेको दाबी पनि गर्दै आएको सुनिन्छ भने सत्तारुढ दल नेकपा आफ्नै आन्तरिक किचलोमा व्यस्त छ । तर सरकारले मुख्यतः यही विषयमा छलफल गर्न मंगलबार सर्वदलीय बैठल बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राजावादीको सक्रियता लगायत विविध विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका नेतालाई बैठकमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

राजतन्त्रको लागि विभिन्न ठाउँमा प्रदर्शनहरु हुन थालेपछि एक अर्को बहस भने सुरु भएको देखिन्छ । स्थानीय स्तरदेखी केन्द्रसम्मै नयाँ माहोल बनेको प्रष्ट छ । नेताहरुले आफ्ना धारणा सामाजिक सञ्जालमार्फत राख्न थालेका छन् भने पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पुर्व उपप्रधानमन्त्री एवं राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका राप्रपा अध्यक्ष कमल थापाबीच ट्विटरमा जुहारी नै चलेको छ, आरोप-प्रत्यारोप लाउने काममा यी दुई नेता व्यस्त छन् ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बारम्बार राजबादीहरुले गरिरहेको प्रदर्शनको विरुद्ध लेख्दै आएका छन् भने सञ्चारमाध्यममा पनि उनका भनाई आइरहेका देखिन्छन् । ६ दिन अघि भट्टराईले ट्विटर एक ट्विट गरेका छन् । जसमा उनले पछिल्लो समय देशव्यापी रुपमा राजावादीहरुले राजसंस्थाका लागि गरिरहेको प्रदर्शन प्रायोजित हर्कत भएको दाबी गरेका छन् । सार्वभौम बनेका जनता फेरि दासतामा नफर्किने तर्कका साथ डा. भट्टराईले लेखेका छन्, “एउटै शैलीमा देशका प्रमुख शहर र काठमाडौंमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले २०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रस्टै छ । तर यो २१औँ शताब्दी हो । सार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन् । हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नातिपुस्ता जन्मिसकेको छ है।”

उनले एकदिन अघि मात्र फेरि अर्को ट्विट गरेर ओली नेतृत्वको सरकारलाई समेत कटाक्ष गरेका छन् । ओली सरकारलाई कुशासनको संज्ञा दिदै उनले लेखेका छन्, “ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न: २४०बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरीबी, बेरोजगारी, भ्रष्टाचार, जातीय/क्षेत्रीय/लैंगिक विभेद, पराधीनताको फोहर १२ बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने?”

नेपाली काङ्ग्रेसबाट सभापति शेर बहादुर देउवा लगायत अन्य प्रभावशाली नेताहरुबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन । तर काङ्ग्रेसका एक केन्द्रिय सदस्यले राजावादीको प्रदर्शनमा असन्तुष्टि जनाएका छन् । काङ्ग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले पनि ट्विटरमा स्टाटस लेख्दै एक उदाहरणका साथ यी प्रदर्शनमा असन्तुष्टि व्यक्त गर्दै ओली शासन गणतन्त्रको पर्याय नभएको दाबी गरेका छन् । नेता घिमिरेले लेखेका छन्, “एउटा भनाइ छः मोटरगाडी बिग्रियो भन्दैमा बयलगाडा चढ्न सकिँदैन, बिग्रेको मोटर बनाएर चढ्नुपर्छ । निरङ्कुश राजतन्त्र भोगेर हुर्केका हौँ, ओली शासन गणतन्त्रको पर्याय होइन । अहिले पार्टी र राज्य शासक बनेका राजतन्त्रका नवसंस्करणहरू वर्तमान अव्यवस्थाका लागि दोषी छन्, प्रणालीको कुनै दोष छैन ।”

यो विषयमा सबै नेताहरुले धारणा राख्ने क्रम जारी रहे पनि राजपा अध्यक्ष थापा भने राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न सक्रिय रुपमा लागिपरेका छन् । उनले शुक्रबार हेटौंडामा भएको विशाल कार्यक्रमलाई सम्बोधनका क्रममा थापाले प्रजातन्त्र स्थापनापछिका पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री बिपि कोइरालालाई सम्झदै भनेका छन्, “जननेता बिपि कोइरालाले भनेको याद आइराख्या छ । ३३ सालमा जब वहाँले राष्ट्रियता र प्रजातन्त्रको मेलमिलापको नीति लिएर आउनुभो । वहाँले भन्नुभाथ्यो, प्रजातन्त्रवादीहरु पञ्चसँग नझस्क, पञ्चहरु प्रजातन्त्रवादीहरुसँग नतर्स । राष्ट्रियता र प्रजातन्त्रलाई एक ठाउँमा लिएर जानुपर्छ,” उनले थपे, “म आज भन्न चाहन्छु, गणतन्त्रवादीहरु राजसंस्थासँग नझस्क, राजसंस्थाका पक्षधरहरु गणतन्त्रसँग नतर्स ।”

नेता थापा यो विषयमा ट्विटरमा पनि दिनहुँजसो स्टाटस लेख्ने र अरुका स्टाटसलाई रिट्विट गर्नमा पनि सक्रिय देखिन्छन् । केही दिनअघि उनले ट्विट गरेका छन्, “कतिपयले सोध्छन्: हिन्दूराष्ट्र र राजसंस्था पुनः स्थापना भएपछि सङ्कटबाट देशले मुक्ति पाउँछ ? हिन्दूराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा सङ्कट समाधान गर्ने होइन, त्यसले सङ्कटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ । राम्रो कामको निम्ति योग्य/इमानदार व्यक्तिले अवसर पाउने वातावरण बनाउँछ ।”

नेकपाका प्रभावशाली नेता मानिने डा. भिम रावलले पनि राजतन्त्रको समर्थनमा प्रदर्शन बढ्न थालेकाले यसले कस्तो संकेत गर्छ भन्दै प्रधानमन्त्रीलाई गम्भीर हुन आग्रह गरेको एक सञ्चार माध्यममा बताएका छन् । उनले यहि प्रदर्शनलाई मध्यनजर गर्दै पार्टी र सरकारलाई घचघचाउदै आएकोसमेत दाबी गरेका छन् ।

प्रतिक्रिया