लकडाउनको अवधीभर के गर्न सकिन्छ ?

यज्ञराज उपाध्याय

कोरोना भाइरसको प्रकोपका कारण अहिले नेपालमा पनि लकडाउन घोषणा गरिएको छ । विश्वभरि फैलिरहेको र नेपालमा पनि एकपछी अर्को गर्दै हालसम्म पाँचजनामा देखिएको कोरोना भाइरसको प्रकोप बाक्लो मात्रामा फैलिन नदिन भन्दै सबैलाई घरमै बस्न र अत्यावश्यक बाहेक बाहिर ननिस्कन सरकारले आग्रह गर्दै लकडाउनको घोषणा गरेको आज छैटौं दिन हो । आवश्यकता अनुसार यो बढ्न सकिने देखिएको छ । छिमेकी देश भारतमा २१ दिने लकडाउनको घोषणा गरिएको छ । लकडाउन अघि बाहिर काममा व्यस्त रहनेहरु अहिले दिन रात घरमै बिताइरहदा निकै अल्छी र दिक्क भएको देख्न सकिन्छ । तर यो अवधीमा के काम गर्न सकिन्छ जसले यी दिन खेर गएको महसुस नहोस् । केही कुराहरु हेरौं –

  1. थाहा छ, लकडाउन अघि तपाई गोब्रे किरा झैं भएनी धेरै व्यस्त हुनुहुन्थ्यो, हिनिरहने, साथीभाईलाई भेट गरिरहने गर्नुहुन्थ्यो होला र कोहि त काममा पनि हुनुहुन्थ्यो होला तर अहिले २४ घन्टै घरमा सेल्फ क्वारेन्टाइनमा बस्नुपरेको छ । यदि घरमै हुनुहुन्छ भने, यो अवधीमा दिनको १ घन्टा घरका परिवारसंग आफू नभएको बेला भएका कुराहरु सोध्नुस, आफुले भोगेका कुराहरु शेयर गर्नुस, बच्चाबच्ची छन् भने उनीहरुसंग अलिकति भुल्लिनुस र रमाउनुस नाकी २४ सै घन्टा कोरोनाको असर, डरका बारेमा सोच्दै, कुरा गर्दै बिताउनुस ।
  2. आफ्ना पूरा किताबहरु, डायरीहरु पल्टाउनुस । अहिले आफू कस्तो हुनुहुन्छ त्यो संग दाजेर हेर्नुस खुब रमाइलो लाग्छ त्यसले,
  3. पुराना दिन सम्झदै एउटा लेख लेख्नुस, वर्तमान कुराहरु जोडेर आफ्नो सपनाको बारेमा लेख्नुस, घुम्न चाहेका ठाउँको बारेमा लेख्नुस, यसले तपाईको लेखनशैलीमा सुधार हुनुको साथै समयपनी व्यतीत हुन्छ,
  4. अधिक समय फेसबुक, टिकटकमै बिताएर कोरोनाबारे न्युज हेरेर, क्षणिक हिहि गर्ने भिडियो मात्र हेरेर, टाइमलाइन र नोटिफिकेसन मात्र पल्टाइरहनुको सट्टा गुगल, युट्यबमा पनि नजर दौडाउनुस र विश्वमा भैरहेका गतिविधि, विश्वयुद्धको समय, विश्वका विभिन्न देशका इतिहास र प्रगति, विश्वका विभिन्न अचम्मित पार्ने कुराहरुको इतिहासका बारेमा बुझ्नुस, त्यस्ता भिडियो हेर्नुस जसले तपाईलाई दीर्घकालीन ज्ञान दिनेछ,
  5. हामी नेपाली हौं त्यसैले हामीले नेपालको बारे पनि केही लुकेका कुराहरु बुझौं न जो गोब्रे किरा झैं व्यस्त भएको समयमा हामीले जान्ने बुझ्ने समय नै पाएका थिएनौं । कक्षा ९/१० मा त पढ्यौं, लिच्छविकाल, राणाशासन, एकीकरण, युद्ध, राजतन्त्र, जनआन्दोलन इत्यादी अनि बिर्सेउ अब त्यसलाई फेरि रिभाइज गरौं र ती किताबमा भन्दा अधिक कुराहरु जानौं । कहिले के भएको रहेछ भन्ने बुझौं यसले पनि हाम्रो ज्ञान बढाउछ र समयको सदुपयोग हुन्छ,
  6. तपाईलाई धेरै रुचि भएको कुराहरुका बारेमा पनि एकपटक युट्यब, गुगलमा खोज्नुस न । जस्तै मलाई पत्रकारितामा धेरै रुचि छ अनि म गुगल, युट्यबमा पत्रकारिताको इतिहास, महत्व, आवश्यकता लगायत विभिन्न देशमा यसको प्रभाव । बिबिसीको इतिहास, विश्वका विभिन्न देशमा यसले यो कसरी सुरु भयो, विश्वयुद्धको बेला पत्रकार र पत्रकारिताको भुमिका कस्तो थियो, सञ्चारमाध्यम कस्तो हुनुपर्छ र कस्ता छन भन्ने सम्बन्धमा हेर्छु अनि केही कुराहरु लेख्छु त्यस्तै तपाई पनि आफ्नो रुचि भएको कुरामा खोज्नुस, त्यो संग सम्बन्धित फिल्म हेर्नुस
  7. मायाप्रेमका मात्र गीत भिडियो कति हेर्नुहुन्छ, यो पुरै खाली बित्ने र निकै अल्छी बनाउने समयमा संगितबारे खोज्नुस, नेपालका गायकहरुको बारेमा जान्नुस, कहिलेदेखि नेपालमा गीत, संगीतको सुरुवात भयो, सुरुवातीका गायक को को थिए, कस्ता गीत गाउथे, पुराना गीत कस्ता थिए र के महत्व राख्थे यसबारे पनि जान्न सक्नुहुन्छ,
  8. यदि तपाई लोकसेवाको तयारी गर्दै हुनुहुन्छ भने घोकन्ते शैली भन्दा पनि अलि राम्रो शैली अपनाउनुस । अहिले घोकेर नेपालमा १२९ भाषा बोलिन्छ भन्ने जान्नुहोला तर भोलि पास भएर काम गर्ने क्रममा कसैले सोध्यो भने खै म त व्यस्तताका कारण बिर्सें भन्ने जवाफ दिनुभयो भने उसको नजारमा तपाईको स्थान कमजोर हुन्छ त्यसैले त्यो सधैं दिमाकमा रहिरहने गरि पढ्नुस । माध्यम युट्यब(आधिकारिक च्यानल), विश्वको इतिहासका लागि गुगल(विकिपिडिया बाहेक), आधिकारिक पेज हुनसक्छन्,
  9. अनि अर्को कुरा प्रायः हामीलाई हाम्रो जिवनशैली, रहनसहनका बारेमा थाहा छैन । हामी पाएं भन्दैमा च्यातिएका, अर्धनग्न कपडाहरु लगाउछौं, कारण रहरलाई दिन्छौं तर त्यसले तपाईको रहर भन्दा ठुलो गन्तव्यमा दीर्घकालीन असर गर्छ । आज तपाई च्यातिएका वा आधा शरीर देखिने लुगा लगाएर बजार हिड्नुभयो, त्यही क्रममा एउटा अलि ठूलो कम्पनीको मान्छेले तपाईलाई देख्यो र दुर्भाग्यवश कामको शिलशिलामा तपाई केही दिनपछि त्यसकै कम्पनीमा कामको लागि जानुभयो । त्यतिबेला त्यसले तपाईलाई सिधै नाई भन्छ किनकी तपाईको पर्सनालिटीले तपाईको आधाभन्दा बढि हाउभाउ बुझिसकेको हुन्छ । हामी पश्चिमा देशको संस्कृतिमा दौडिएका छौं र त्यसको असर पनि देखिहाल्यौं । अहिले पश्चिमा देश नै रुदै छन् । हिजो नमस्कारलाई हिन्दुको परम्परा भन्दै धिकार्नेहरु आज नमस्कारलाई आत्मसात गर्दै छन्, कारण कोरोना । अब यो अर्धनग्न शरीर ढाक्नको लागि पनि पक्कै अर्को भाइरस आउनु नै पर्छ । शरीर देखाएर के नै रहर पूरा हुन्छ होला र? त्यसैले कस्तो लगाउने, को संग कस्तो व्यवहार गर्ने? कहाँ जादा कसरी प्रस्तुत हुने ? कस्तो खानेकुरा खाने र तिनको फाइदा के हुनसक्छन् भन्ने बारेमा पनि बुझौं न, आखिर खाली छौं हामी अहिले । बुझ्दैमा के जान्छ र ?
  10. हामी यो खाली समयमा साहित्यमा पनि बदल्न सक्छौं । साहित्यिक किताबहरु पढेर, भिडियोहरु हेरेर, साहित्य क्षेत्रबारे खोजेर केही कुराहरुका बारेमा पनि ज्ञान लिन सक्छौं । सकिन्छ भने आफै पनि छोटाछोटा मुक्तक, गजल लेख्न सक्छौं । –
  11. हामी बाहिरी रुपमा धेरै खुशी त छौं तर भित्रबाट छैनौं । हामी सबैलाई केही न केही चिन्ता, समस्या छ । अहिलेकै परिपेक्षमा कुरा गर्ने हो भने कोरोना भाइरसले कतै आफुलाई संक्रमित पार्ने होकि, यसबाट मरिने पो होकि भन्ने चिन्ता पनि होला तर यो अवस्थामा यसको चिन्ता भन्दा बढी आत्मबल बलियो बनाउन आवश्यक छ । आफ्नो सुरक्षा आफैले गर्नुपर्नेछ, उपाय धेरै छन् र तपाईहरुलाई थाहा पनि छ । यो अवस्थामा कोरोनाको चिन्ताबाट मुक्त हुन माथी उल्लेखित कुराहरु गर्न सकिन्छ । कतिबेला गीत सुनेर, फिल्म हेरेर, मजाको निन्द्रामा हराएर त कतिबेला केही नयाँ कुराको बारे ज्ञान लिएर । अनि अर्को कुरा युट्यब, गुगलमा हामी हाम्रो जिवनशैली संगै कसरी दिल खोलेर खुशी हुने त, कसरी आफ्नो मान्छेसँग रमाउने भन्ने पनि खोजेर हेर्न सक्छौं,
  12. वैदेशिक तर विश्वव्यापी भाषा अङ्ग्रेजी हाम्रो लागि सबैभन्दा ठूलो दुस्मन हो । यसले हामीलाई एककदम पछाडी धकेलिरहेको महसुस हुन्छ तर त्यस्तो हैन । प्रविधिले फड्को मारिसकेको छ । चीनका राष्ट्रपनि सि जिनफिङलाई पनि अङ्ग्रेजी राम्रोसँग आउदैन, नेपालका राष्ट्रपनी विद्यादेवी भण्डारीलाई अनि अङ्ग्रेजी राम्रो आउदैन अनि के उनीहरु असक्षम वा एककदम पछाडी छन् त? चीनका राष्ट्रपती त झन विश्वभन्दा कयौं कदम अगाडी छन् । तर उनीहरूलाई त आउदैन भन्दै हामी पनि पन्छिने चै हैन, यो लकडाउनको समयमा अङ्ग्रेजीका verbs, grammar हेर्न सक्छौं । कसरी बोल्ने त अङ्ग्रेजी भन्ने विषयमा धेरै भिडियो छन ती हेर्दै प्राक्टिस गर्न सक्छौं । धेरै एप्सहरु छन् तिनीहरुबाट पनि केही कुरा प्राप्त गर्न सक्छौं,
  13. हामी हाम्रो समाजको बारेमा केही लेख्न सक्छौं, राम्रा चित्रहरु कोर्न सक्छौं, टेक्नोलोजीका बारेमा बुझ्न सक्छौं, सयौं व्यक्ती यस्ता छन् जो हजार पटक असफल भएर पनि सफल भएका छन्, नपढेर पनि विश्वसमुदायमा आफ्नो छुट्टै छाप बनाएका छन्, कोहि क्रान्तिकारी छन, कोहि शान्तिका दुत छन् । यिनिहरुका बारेमा पनि नेटबात वा किताबमार्फत बुझ्न सक्छौं । जिउदो इतिहास विश्वका धनी र विश्वमा तहल्का मच्चाइरहेका बिल गेट्स, जेफ बेजोज, मार्क जुकरवर्ग, ज्याक मा, मुकेश अम्बानी, राजनीति क्षेत्रका सि जिनफिङ, पुटिन, ओबामा, हिज हाइनेस शैख मोहम्मद, खेलक्षेत्रमा मेस्सी, रोनाल्डो, धोनी, सचिन, पेले लगायतका बारेमा जान्न सक्छौं । उनीहरुका चुनौती, संघर्षका बारेमा अलिकति केही बुझ्यौं भने शरीरमा आगो बल्न सुरु हुन्छ, विश्वास नलागे खोज्नुस अनि समयको सदुपयोग गर्नुस है!

यसका अलावा अरु थुप्रै उपाय छन, लकडाउनलाई आफ्नो लकहाइ गर्ने । जसमार्फत तपाई आफ्ना दिन अन्य दिनभन्दा विशेष बनाउन सक्नुहुनेछ । धन्यवाद !

प्रतिक्रिया