कोरोनाले कृषि उत्पादनमा लकडाउन

खगेन्द्र दाहाल, नेपालगन्ज

कोरोनाले कृषि उत्पादनमा लकडाउन

कोरोनाको कहर दिन प्रतिदिन बढ्दो छ । हुने खाने मान्छेलाई पनि विहान साझ खानको जोहो गर्न मुस्किल पर्न थालिसकेको छ । गाउँमा किसानले उत्पादन गरेका कृषि बस्तु खेतबारीमै सडिरहेका छन ।

भारतबाट भने दिन प्रतिदिन खाद्यान्न सगै तरकारीहरु जमुनाह नाका बाटै सहजै भित्रिरहेका छन । खाद्यान्न तथा तरकारी बोकेर आउने लाई सामान्य चेकजाच गरेरै नेपाल भित्रिरहेका छन । बाँकेका किसानहरुले उत्पादन गरेका बस्तु विक्रि नभएर खेर गैरहेका छन ।

बाँकेको खजुरा गाउँपालिका २ का अगुवा किसान लाल बहादुर खत्रि भारतबाट तरकारी भित्रिदा यहाँका किसानलाई प्रतक्ष असर परिरहेको त छ नै त्यसमाथि पनि कोरोना सहजै तरकारी र खाद्यान्नसगै भित्रिरहेको बताउछन ।

किसान लाल बहादुर खत्रिले उत्पादन गरेको टमाटर अहिले उपभोक्ता माझमा पुग्न सकिरहेको छैन । ‘खेतमै एक ठाउँमा टिपेर राखेका टमाटरलाई विक्रि गर्न काहाँ लैजाने भन्ने नै चुनौति छ’ किसान खत्रिले भने । अहिले गाउँ गाउँ सम्म भारतिय तरकारी पुग्ने गरेका छन ।

बजारमा लैजाउ भने भारतिय तरकारीले भरीभराउ भएको छ । विक्रि गर्ने स्थान पनि छैन । तरकारीमा औषधि पनि छर्कन सकिरहेका छैनौ । १० कठ्ठामा लगाइएको करेला फल दिने बेलामा औषधिको अभावले मरेको छ । खजुरा विगाउँका किसान पदम बहादुर रानाले लकडाउन अघि २ दिनको अन्तरमा १०÷१२ कृइन्टल काक्रा नेपालगन्जको बजारमा विक्रिका लागी पठाउने गर्दर्थे ।

लकडाउन भएपछि उनको विक्रि पनि ह्वात्तै घटेको छ । समयमै काक्रा विक्रि नभएर आवश्यकता भन्दा ठुला भएका छन । काक्राले पनि राम्रो मुल्य पाएका छैनन । बैजानाथ गाउँपालिका वडा नम्बर २ पहाडिपुरका दिपक गुरुङले पालन गरेको लेर्यस कुखुराले समयमा दाना खाना नपाउदा झण्डै तिन हजार अण्डा दिने कुखुरा मरेका छन ।

गुरुङलाई लकडाउनका कारण लाखौ नोक्सानि भएको छ । नेपालगन्ज उप महानगरपालिका १६ जयसपुर बाल विकास कृषक समुहले २० विगाहा क्षेत्रफलमा लगाएको १ हजार कुइटल जति बन्दा गोभि विक्रि नभएर कुहिने अवस्थामा पुगेको छ । कृषक समुहका मौयुद्धिन कवडियाले दिनहुँ अटोमा राखेर विभिन्न गाउँ गाउँमा पुगेर विक्रि गर्ने गरेको भएपनि सबै विक्रि नहुने देखिएको बताए ।

ठुलो क्षेत्रफलमा लगाइएको बालिबाट भएको उत्पादनलाई सहजरुपमा विक्रि वितरण गर्न नसक्दा नोक्सानी पनि ठुलै हुने देखिएको कवडियाले गुनासो गरे । नेपालगन्ज देखि अन्य पालिकाहरुमा तरकारी विक्रि गर्न रिक्सामा जादा पनि स्थानिय सरकारले पालिका भित्र विक्रि विरतण गर्न नदिने जसका कारण विचबाटै फर्कनुपर्ने बाध्यता रहेको जयसपुरका किसान कवडियाले बताएका छन ।

यि त केहि प्रतिनिधिमुलक पात्र मात्र हुन । तरकारी विक्रि गर्न नसकेर किसानहरुले गाई भैसी तथा बगुरलाई खुवाउन बाध्य छन । बाँकेलाई पुग्ने तरकारी बाँकेमै अहिले उत्पादन भैरहेको छ तर कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै किसानहरु तरकारी विक्रि गर्न बजार निस्कन सकिरहेका छैनन । भने केहि मात्रमा थोरै थोरै गाउँघरमै विक्रि हुने गरेको छ । थोक व्यापारीका माझमा गाउँका किसानहरु पुग्न सकिरहेका छैनन ।

लकडाउन भएकाले तरकारी विक्रि गर्न साधन पनि पाउन मुस्किल हुने र पाएपनि अत्यन्त महङगो भाडा तिर्न पर्ने भएकाले लगानि समेत उठ्न गाह्रो भएको जानकि गाउँपालिकाका किसान सुरेन्द्र खड्काले बताएका छन ।

गाउँमा उत्पादन भएको तरकारी, दुग्ध पदार्थ, कुखुरा, कुखुराको अण्डा लगाएत कृषि उत्पादनलाई लकडाउनको समयमा कसरी समन्वय गरेर विक्रि वितरण गर्ने भन्ने बारेमा स्थानिय सरकारले चासोको रुपमा नलिदा किसानलाई चिन्तित बनाएको हो । अहिले अधिकाश मानिसहरु घरतिरै भएकाले यो बेला गर्न सकिने कृषि उत्पादनको काम पनि हुन सकिरहेको छैन ।

किसानलाई चाहिने मल, विउ, विषादी, औषधि, कृषि यन्त्र खरिद गर्न पनि पाइरहेका छैनन । एग्रोभेटहरु नखुल्दा साना देखि ठुला किसानहरु नयाँ खेतीबाली लगाउन पाइरहेका छैनन । लकडाउनको बेला किसानहरुले घरमै राम्रो उत्पादन गर्न सक्दछन ।

यदि बाँके जिल्ला कृषिमा आत्मनिभर हुने नै हो भने लकडाउनलाई सदुपयोग गर्दे कृषि उत्पादनको कामलाई अगाडी बढाउन जरुरी छ । भइरहेको कृषि उत्पादनलाई सहज ढङगबाट उपभोक्ता माझमा पु¥याउने र नयाँ खेती गर्नका लागी तत्काल योजना बनाएर कार्यनयन गर्न जरुरी छ ।

होइन भने साना किसान मात्र होइन ठुला किसान पनि पलायन हुनेछन । किसान पलायन भए तपाई हामिले के खाने ? बेलैमा सोचौ ।

प्रतिक्रिया