के-पी- घिमिरे

विश्वभर कोरोना भाइरसको त्रासदी छदैछ । स्वास्थ्यकर्मीहरु पनि आफ्नो ज्यान हत्केलामा राखेर बिरामीहरुको सेवामा रातदिन नभनी लागि रहेका छन् । यस्तो विषम परिस्थितिमा काम गर्दागर्दै एक स्वास्थ्यकर्मीलाई नोकरीबाट निकालिनु पक्कै पनि राम्रो कुरा होइन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा करार सेवामा कार्यरत स्टाफनर्स प्रकृति डि-सी- लाई करार सेवा अवधि सकिएको भनेर नोकरीबाट २०७६/१२/३० गते निकालिएको छ । स्वास्थ्यकर्मी डिसीलाई सोध्दा मैले मेडिकल वार्डमा डिउटी गर्दा स्वास्थ्य सामाग्री माग गरेकी थिए त्यहीँ बहानामा मलाई जागिरबाट निकालियो भनेर नोकरी बचाईदिनका लागि ट्रेड युनियनलाई गुहार गरेको बताएकी छिन् ।
डि-सी- नयाँ कर्मचारी पनि होइनन् उनले यसभन्दा अघि नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा साढे दुई वर्ष सेवा गरि सकेकी थिईन् । उनको काम मेडिकल कलेजमा राम्रो भएको त्यहाँका कर्मचारीले र प्रशासनले बताएको छ । आफ्नो घर दाङ भएको हुँदा त्यहा नोकरी गरेको उनले बताइन् ।
देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीहरुलाई कुनै न कुनै बहानामा निकालिएको समाचार पढ्न पाइन्छ । दाङमा नै एकजना सचिवले घरमा भाडामा बस्ने स्वास्थ्यकर्मीलाई बस्न नदिएको समाचार अाएको थियोे । त्यस्तै बुटवलमा पनि भाडामा बसेका स्वास्थ्यकर्मीलाई निकालेको समाचार छापिएको थियोे । अहिले घरबेटी भन्दापनि सरकारको प्रतिष्ठान स्तरको अस्पतालले नोकरीबाट निकाल्नु कत्तिको जायज हो । अहिले महामारी रोग नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरुको माग गर्दा नोकरी गर्न नआएको उदाहरण प्रशस्त छन् ।
अहिलेको परिस्थितिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले काम गर्न नमानेको पनि सुन्न पाइन्छ तर डिसीले कोभिड १९ का विरुद्ध अग्र पंक्तिमा रहेर बिरामीहरुको सेवामा अहोरात्र खटिदा पनि पिपिई सामाग्री माग गरेको अवस्थामा करार सेवा सकियो काम सन्तोषजनक भएन भनेर बहाना गरि नोकरीबाट निकाल्नु सरासर गल्ती छ । उनलाई नोकरीमा पुन: पुर्नवहाली गराउन ट्रेड युनियन लाग्नुपर्छ र स्वयं सरकारले पनि निर्देशन दिनु पर्दछ ।
उनले उक्त प्रतिष्ठानमा १६ महिनादेखि कुशलता पूर्वक काम गरेकी थिइन् यदि उनको काम सन्तोषजनक हुदैनथ्यो भने पहिले उनलाई निकाल्नु पर्थ्यो । उनले पीपीई मागेकै कारण आफू निस्कासनमा परेको जानकारी दिएकी छिन् ।
डिसी मात्रै होइन उक्त प्रतिष्ठानमा कार्यरत चिकित्सक डा. अमृता श्रेष्ठ पनि स्वास्थ्य सामाग्री पीपीई मागेकै कारण निस्कासनमा परेकी छिन् । उनको भनाइ अनुसार पनि स्वास्थ्य सामाग्री नलगाई बिरामी चेकजाँच गरेको फोटो सामाजिक सञ्जाल फेसबुकमा पीपीई बिना काम गर्न खतरा छ भन्ने खबर लेखेर पोष्ट गरेर स्वास्थ्य सामाग्री माग गरेकै बहानामा डाक्टर श्रेष्ठलाई पनि अवकाश पत्र दिइएको छ ।
चिकित्सक श्रेष्ठल भदौ महिनादेखि उक्त प्रतिष्ठानमा कार्यरत रहेकी थिईन । यस्तो महामारीको बेलामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत भत्ताको व्यवस्था र पुरस्कृत गर्नु पर्नेमा उल्टै नोकरीबाट निकाल्नु समग्र चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल कमजोर बनाउनु हो ।
यस्तो संक्रमणकालीन परिस्थितिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्नुको सट्टा करार अवधि सकिएको र काम सन्तोषजनक नभएको भन्दै नोकरीबाट निकालिएका यी दुवैले न्याय पाउनु पर्दछ । यिनीहरुलाई न्याय दिलाउन नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, लगायतका विभिन्न ट्रेड युनियनहरु लाग्नु पर्दछ ।










